१९ असार २०८३, शुक्रबार

पोखरामा अल्ट्रालाइट उडान शुरू

कात्तिक २६, २०७७
पोखरामा अल्ट्रालाइट उडान शुरू

कोरोना भाइरस प्रभाव कारण लामो समयदेखि बन्द रहेको पोखराको अल्ट्रालाइट सेवा बुधवारदेखि सञ्चालनमा आएको छ ।

पोखरा अल्ट्रालाइट प्रालिले लकडाउनपछि पहिलो पटक बुधवार परीक्षण र व्यावसायिक गरी ६ उडान गरेको जनाएको छ । 

सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउनसँगै विभिन्न समयमा निषेधाज्ञा गरेपछि अल्ट्रालाइट बन्द हुँदै आएको थियो । आन्तरिक हवाई उडानसँगै उडान अनुमति दिइए पनि ग्राहक अभाव तथा कम्पनीको आन्तरिक व्यवस्थापन पर्याप्त नहुँदा उडान हुन सकेको थिएन ।

पोखरा अल्ट्रालाइट प्रालिका क्याप्टेन पुष्पराज तिमिल्सिनाले पहिलो उडानका रुपमा काठमाडौंका राकेश श्रेष्ठलाई बिहान ७ बजे पोखरा एयरपोर्टबाट आकाशमा उडाएका हुन् ।
 
पोखरा अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने हेतुले कोरोना महामारीबीच पनि आवश्यक स्वास्थ सुरक्षा कायम गर्दै उडान शुरू गरिएको बताए । यो उडान कोरोना महामारीका कारण साढे ७ महिनापछि मात्र पुनः संचालनमा आएको हो ।

प्याराग्लाइडिङ कम्पनीले साविक दररेटमा आधा छुट गरेपछि आन्तरिक पर्यटकको घुइँचो थामिनसक्नुभएको बेला अल्ट्रालाइटमा भने यति नै छुट गर्ने भन्नेबारे यकिन भइनसकेको श्रेष्ठले बताए । उनका अनुसार बिस्तारै केही रकम छुट दिइनेछ ।

अल्ट्रालाइटमा उडेर पोखराको आकाशमा कम्तीमा १५ मिनेटसम्म रमाउँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । थप समयअनुरुप दररेट पनि थप हुँदै जान्छ ।

पोखरामा अल्ट्रालाइट उडान भर्ने विभिन्न ४ कम्पनी छन् । सबैभन्दा सुरुवातमा एभिया क्लबले यहाँको आकाशमा २५ वर्षअघि साहसिक अल्ट्रालाइट सेवा शुरूआत गरेको हो ।

एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिका अलावा फिस्टेल अल्ट्रालाइट र हेली एयरले पोखरामा अल्ट्रालाइट उडान भर्दै आएका हुन् । यी ४ मध्ये पोखरा अल्ट्रालाइटले पुनः उडान शुरू गरिसक्दा अन्यले भने तयारी गरिसकेका छैनन् ।

फिस्टेलले अल्ट्रालाइटका प्रबन्ध निर्देशक पारस गौतमले विषम परिस्थितिबीच तत्काल शुरूआत गर्ने अवस्था नरहेको बताए । उनले सहज वातावरण आइसकेपछि उडान भर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए ।

विश्वमै पर्यटकीयरूपमा ख्याती कमाएका अल्ट्रालाइटहरू पोखरामा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत मातहत सञ्चालित छन् । यो सेवा साहसिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । अल्ट्रालाइट जहाजमा उडेर पोखरा शहर, विश्व शान्ति स्तूपा, फेवाताल, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायत हिमाल अवलोकन गर्न पर्यटक आकर्षित हुन्छन् । अल्ट्रालाइटमा पाइलटका अलावा अर्का एक जना मात्र उड्न मिल्छ ।

अल्ट्रालाइट कम्पनीले पर्यटकीय सिजनमा दैनिक १०० भन्दा बढी उडान गर्ने गर्दछन् । सिजन नहुँदा करीब २० मात्र उडान हुन्छन् । पोखरा घुम्न आउने ३० प्रतिशतभन्दा बढीले साहसिक खेलकुदमा रुचि राख्ने गरेका छन् । 

पोखरामा प्याराग्लाइडिङ उडान भने गत असोजदेखि नियमित सञ्चालनमा आएको हो । उडानमा ५० प्रतिशतसम्म छुट दिँदा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नेपाल हवाइ खेलकुद संस्था (ना) अन्तर्गत प्याराग्लाइडिङ कम्पनी पोखरामा कूल ६१ छन् । तीमध्ये हाल करीब ५० कम्पनी सञ्चालनमा रहेको ना अध्यक्ष कृष्ण भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्