
विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मंसिरको दोस्रो हप्तासम्ममा कालोपत्र गरिने भएको छ ।
३ किलोमिटर लम्बाइको सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीय पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् ।
कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मंसिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार स्थानीयसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक २ पटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ । उनले भने, ‘तिहारलगत्तै कम्पनीले कालोपत्र शुरू गर्नेछ ।’
सो खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयले सडक अवरुद्ध गरेका थिए । आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए ।
मन्त्रिपरिषद्को गत पुस ३ गतेको बैठकले काठमाडौं उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, ‘कुनै पनि संरचना नभत्काइ भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।’
ढोलाहिटी–लेले सडक विस्तार ४ वर्ष पहिले शुरू भएको थियो । अहिले पनि टाखेल–लेलेलगायत चौडाइ उपलब्ध भएका स्थानमा मापदण्ड अनुसार नै विस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो । उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो ।
जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ । आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक–पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्र गर्न लागिएको हो । उपत्यकामा एकै वर्ष विस्तार शुरू भएका १० सडकमध्ये अहिलेसम्म एउटा पनि डिभिजन सडक कार्यालयमा हस्तान्तरण भइसकेको छैन ।