
अवैधरूपमा भारत प्रवेश गरेको भन्दै ४ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका ४ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरा रहेका भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।
सीमानाका बन्द भएका बेला ट्युबबाट भारत गइरहेका ४ जनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलवार नियन्त्रणमा लिएको र उनीहरू चारैलाई बुधवार अदालतमा पेश गरिने जनाइएको छ ।
सीमानाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरू महाकालीमा ट्युबमार्फत जाने गरेका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरका बीच भारत गइरहेका छन् । झुलाघाट नाका बन्द हुँदा उनीहरू महाकालीमा ट्युबमा तरेर भारत जाने गरेका छन् ।