२५ जेठ २०८३, सोमबार

ताप्लेजुङमा विस्तापित हुँदै फुसका घर, जस्तापाताले छाउन थालियो

कात्तिक २६, २०७७
ताप्लेजुङमा विस्तापित हुँदै फुसका घर, जस्तापाताले छाउन थालियो
सांकेतिक तस्वीर

ताप्लेजुङमा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । 

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसरहित घर निर्माणका लागि छनोटमा परेका परिवारको घरमा जास्तापाताको छाना लगाउन थालिएको हो । 

शहरी विकास तथा निर्माणअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना झापाले ताप्लेजुङका खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई सुरक्षित छानोमुनी ल्याउन लागेको हो । कार्यक्रमअन्तर्गत जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ४ साँघुको ओदकमा आयोजनाले लाभग्राही अर्थात् विपन्न ३० परिवारको घरको फुसको छाना हटाई जस्तापाताले छाइदिएको छ ।

शेर्पा समुदायको मात्र बसोबास रहेको ओदकका विपन्न ३० परिवारको घरमा जास्तापाताले छाना छाउने काम सम्पन्न भएसँगै मङ्गलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरे । सो अवसरमा उनले फुस र चित्राको छाना विस्थापनले नागरिकलाई ठूलो राहत पुगेको बताए । घरको छाना जस्तापाताले छाएपछि विपन्नले वर्षात्को समयमा चुहिने घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । 

मैवाखोला गाउँपालिकाको छ वटै वडाका १७४ घरमा जस्तापाताले छाउने योजना स्वीकृत भएको छ ।

उक्त सङ्ख्यामध्ये हाल ३० परिवारको घरमा जस्तापाता छाइसकिएको हो भने बाँकी परिवारको घरमा क्रमशः जस्तापाताले छाना छाउने प्रक्रिया रहेको गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले बताए ।

भवन निर्माण आयोजनाबाट प्रतिपरिवार रु ५० हजारका दरले बजेट निकासा भई विपन्नको घरमा जस्तापाताले छाउने कार्य अगाडि बढाइएको उनको भनाइ छ । 

नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा विपन्न एक हजार ८१४ परिवारको घरमा फुसको छाना हटाएर जस्तापाताले छाइने भएको छ ।

मैवाखोलाबाहेक फुङ्लिङ नगरपालिकामा १९० परिवार, फक्ताङ्लुङ गाउँपालिकामा २४५, सिरिजङ्घामा १६७, सिदिङ्वामा २९०, पाथीभरा याङ्वरकमा २००, मेरिङ्देनमा १८८, आठराई त्रिवेणीमा २१३ र मिक्वाखोला गाउँपालिकामा १४७ परिवारको घरमा जस्तापाताले छाइने भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्