११ असार २०८३, बिहीबार

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश

कात्तिक २७, २०७७
भ्याक्सिन आयात सहज बनाउन अध्यादेश

कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ ।

यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या बुधबार २ लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाटै मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगिसकेको छ । सार्क मुलुकमा कोरोनाबाट संक्रमित भएपछि निको हुने दर नेपाल छैटौं स्थानमा छ । निको हुने दर कमी हुनेमा नेपालभन्दा तल श्रीलंका र बंगलादेश मात्रै छन् । ‘संक्रमित हुने संख्या रोक्न भ्याक्सिन बन्नेबित्तिकै ल्याउनका लागि कानुनी अड्चन फुकाउन अध्यादेश प्रस्ताव गरिएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने ।

एफडीए, डब्लूएचओ जस्ता आधिकारिक संस्थाबाट मान्यता प्राप्त औषधि र खोप मात्रै आयात गर्न मिल्ने कानुनी व्यवस्था भएकाले आकस्मिक रूपमा प्रयोग गर्न मिल्नेलाई पनि आयात सहज ढंगले गर्न अध्यादेशको प्रस्ताव गरिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले तयार गरेको अध्यादेशको मस्यौदा कानुन मन्त्रालयले समेत सहमति दिएपछि निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भइसकेको छ ।

‘आकस्मिक रूपमा प्रयोग गरिने औषधि तथा खोप आयात गर्नेसम्बन्धी अध्यादेशमाथि मन्त्रिपरिषद्मा एक चरण छलफल भइसकेको छ, चाँडै स्वीकृत हुन्छ,’ निमित्त मुख्य सचिव खगराज बरालले भने ।

संघीय संसद्का दुवै सदनको अधिवेशन नभएका बेला सरकारले तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ अनुसार जारी भएको अध्यादेश संसद्बाट पारित ऐनसरह मान्य हुने छ । अध्यादेश संसद् अधिवेशन सुरु भएपछि दुवै सदनमा पेस गर्नुपर्छ । सदनले अस्वीकार गरे स्वतः निष्क्रिय हुन्छ ।

अध्यादेशमा सरकारले आफैँ खरिद गर्नेभन्दा पनि निजी कम्पनीले सरकारको अनुमति लिएर आयात गर्न सक्ने प्रावधान रहेको स्रोतले जनाएको छ । रसियन फन्ड र नेपालको निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच कोभिड–१९ विरुद्ध रुसमा परीक्षण भइरहेको खोप ‘स्पुतनिक ५’ ल्याउन यसअघि नै सम्झौता भइसकेको छ । यो खोप आकस्मिक रूपमा प्रयोग गर्न मिल्ने हो भने पनि कानुन संशोधनबिना सरकारले अनुमति दिन सक्दैन । ‘स्पुतनिक ५’ खोप प्रमाणित भइसकेको छैन । यो रुसमा तेस्रो अर्थात् अन्तिम चरणको परीक्षणमा छ । रुसबाट २ करोड ५० लाख डोज खोप नेपालमा ल्याउने सम्झौता भएको बताइएको छ ।

औषधि व्यवस्था विभागमा सूचीकृत कम्पनी वा संस्थाले मात्रै भ्याक्सिन तथा औषधि ल्याउन सकिने अध्यादेशमा उल्लेख छ । औषधि ऐनको दफा ८ (क) मा कुनै पनि भ्याक्सिन तथा उत्पादक कम्पनी नेपालमा दर्ता हुनुपर्ने व्यवस्था छ । तर अध्यादेश आएपछि आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने औषधि तथा भ्याक्सिनका लागि दर्ता गरिरहनुपर्दैन ।

औषधि तथा भ्याक्सिनलगायत स्वास्थ्य सामग्री आयातका लागि स्वास्थ्य सेवा विभागबाट स्वीकृति लिनुपर्छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ भ्याक्सिन समयमै आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समितिसमेत गठन गरेको छ । यो समितिले कहाँ–कहाँ भ्याक्सिन बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउने भन्नेबारे अध्ययन तथा तयारी गर्नेछ । बेलैमा आपूर्तिका लागि सहयोग गर्न तीन मन्त्रालयका सचिवको टोली बनाइएको हो । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्