
भारतमा इजाजत पाएपनि ८० प्रतिशतभन्दा धेरै सिनेमा घर बन्द छन् । कतिपय खुलेका त छन् तर नाम मात्रैका दर्शक छन् । ठुला चलचित्रका निर्माता अब हलको अवस्था राम्रो नभएसम्म कुनैपनि चलचित्र प्रदर्शन गर्न तयार छैनन् ।
पुराना चलचित्र हेर्नका लागि दर्शक हलमा जाने सम्भावना देखिएको छैन । जब चलचित्र हल बन्द छन्, यसको प्रत्यक्ष फाइदा भने ओटीटी प्लेटफार्मवालाले उठाइरहेका छन् ।
ठुला चलचित्रका निर्माता कहिलेसम्म हलमा प्रदर्शनका लागि रोकिन्छन् ? कुनै अनुमान लगाउन सक्ने अवस्था छैन । कोरोनाको महामारी झन् बढ्दै गएपछि हल खुल्ने सम्भावना झन् कम हुँदै गएको छ । सूर्यवंशी, ८३ तथा राधेजस्ता चलचित्र कहिले प्रदर्शन हुन्छ ? अनुमान समेत लगाउन सकिएको छैन ।
बलिउडमा अहिले लगातार यी चलचत्रिलाई लिएर चर्चा चलिरहेको छ । यसै सन्दर्भमा सलमान खानको चलचित्र ‘राधे’पनि ओटीटीमार्फत प्रदर्शन हुने सम्भावना बढेको छ । हाल एक कम्पनीसँग ओटीटी मार्फत चलचित्र प्रदर्शन गर्ने विषयमा राधे टिमले छलफल गरेको बुझिएको छ । तर, बिक्री रकममा आएर कुरा अड्कीएको छ ।
सलमानले २ सय करोड माग राखेको र उक्त रकम दिन उक्त प्लेटफार्मवाला तयार नभएको स्रोतको दाबी छ । स्रोतको दाबी भन्दै भारतिय मिडियाले भनेका छन्, ‘सलमान अब १ सय ७५ करोडभन्दा तल झर्ने सम्भावना छैन । र, प्लेटफार्मवाला १ सय ६० करोडभन्दा माथि नजाने अडानमा छ ।’ सलमानको यो चलचित्र पनि ओटीटी प्लेटफार्ममार्फत प्रदर्शन भयो भने हल संचालनकरुलाई निकै ठुलो झड्का लाग्ने निश्चित छ ।
अमिताभ बच्चन, आयुष्मान खुराना लगायतका चलचित्र डिजिटल प्लेटफर्ममै प्रदर्शन भए । सुशान्तसिंह राजपुतकै अन्तिम चलचित्र डिजिटल प्लेटफर्ममै प्रदर्शन भयो । अक्षयकुमार, अजय देवगनजस्ता स्टारका चलचित्रले पनि सिनेमा हलको विकल्प खोजे । अब सलमान खानको पालो आएको छ ।