
काठमाडौं, ३० वैशाख — ओसामा बिन लादेनलाई पाकिस्तानको अबोट्टाबादस्थित घरमै घुसेर अमेरिकाको नेभी सीलले सन् २०११ मा मारेको थियो । त्यतिखेरको कारवाहीमा लादेन परिवारका व्यक्तिगत चिट्ठीहरू पनि सेनाले बरामद गरेको थियो ।

ती चिट्ठीमध्ये एउटा चाहिँ लादेनका छोरा हमजाले लेखेका थिए । हमजा अहिले २८ वर्षका भए र उनले ६ वर्षअघि लेखेका चिट्ठीका बारेमा एफबीआईका पूर्व अनुसन्धानकर्ता अली सुफानले सीबीएस न्युजलाई बताएका छन् ।
चिट्ठी पढ्दा हमजाले आफ्नो पितालाई ठूलो सम्मान गर्ने र उनको मृत्युको बदला लिने प्रतिबद्धता देखाएको पाइन्छ ।
त्यो चिट्ठी अहिले सार्वजनिक गरिएको छ ।
सीबीएसको ६० मिनेट्स नामक कार्यक्रममा सुफानले एउटा चिट्ठी पढे, ‘म मेरो बुवाको सबै हेराइ, मलाई दिएको सबै मुस्कान सम्झिरहन्छु । म आफूलाई फलामले बनेको ठान्छु । अल्लाहका लागि जिहादको बाटो हिँड्ने नै हाम्रो जीवनको उद्देश्य हो ।’
सुफानका अनुसार हमजालाई सम्भावित नेताका रूपमा धेरै अघिदेखि नै हेरिँदै आएको छ । उनलाई प्रोपागान्डा भिडियोहरूमा कहिलेकाहीँ बन्दुक समातेर बसेको देखिएको छ ।
एजेन्सी