काठमाडौँ, ३० वैशाख –‘दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु,’ कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्छिन्, ‘शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो र छोरो जन्मियो । भोट हाल्न पाइनँ, २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ, यस पटक मैले त भोट हाल्छु तर छोरो तीन महिनाअघि मात्र पढ्नका लागि विदेश गएकाले उसले मत हाल्न नपाउने भयो ।’
२०५४ जेठ ४ गते स्थानीय निकायको निर्वाचन हुँदा विष्णुमाया पुख्र्यौली घर प्युठानको दाङवाङ– ४ मा थिईन् । सुत्केरी हुने बेलामा उनी एक्लै परिन् । श्रीमान् मत हाल्न गएका थिए भने साथमा छोराअघिका छोरी मात्र थिए । श्रीमान् चोपनिधिलाई राष्ट्रिय जनमोर्चालाई गाविस अध्यक्षमा उम्मेदवार बनाउन खोजे पनि घरमा सुत्केरी हुने भएकाले आचार्यले उम्मेदवारी दिएनन् । तर सक्रिय कार्यकर्ता भएकाले मतदान केन्द्रमा बिहानै उनका श्रीमान् गएका थिए ।
यसबीचमा चोपनिधिको पनि निधन भइसकेको छ भने विष्णुमायाले आफ्ना तीन छोरीको विवाह सम्पन्न गराएर तीन महिनाअघि मात्र छोरा पशुपतिलाई उच्च शिक्षा अध्ययनका लागि अस्टे«लिया पठाएकी छिन्् ।
विष्णुमायाले संविधानसभाको निर्वाचनमा भाग लिए पनि पशुपति त्यसबेला वालिग भइसकेका थिएनन् । विष्णुमायाका छोरा निर्वाचनका दिन जन्मिएका हुनाले गाउँमा उनको नाम विजय राख्न छिमेकीले सुझाएको पनि उनको स्मृतिमा ताजै छ ।
विष्णुमायाको जीवनका देखा परेका यति धेरै आरोह अवरोहमा स्थानीय तह÷निकायको निर्वाचन हुन नसक्नु राजनीतिक सङ्क्रमणकालको उपज मान्न सकिएला तर लोकतान्त्रिक मुलुक, जहाँ स्थानीय तहको अधिकारको विकेन्द्रीकरणको लहर चलेको छ, मा यति लामो समय कर्मचारीका भरमा ती निकाय चल्नु कति उचित थियो ?
जे होस्, दुई दशकपछि वैशाख ३१ गते आइतबार मुलुकका तीन वटा प्रदेशमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा आगामी जेठ ३१ मा बाँकी चार वटा प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन हुने घोषणासँगै सर्वसाधारणमा एक प्रकारको उत्साह उत्पन्न भएको छ । लोकतन्त्रमा आफ्नो अभिमतबाट जनप्रतिनिधि छान्ने यो अवसर आवधिक रुपमा आउनुपर्नेमा कुनै दुई मत हुन सक्दैन ।
‘यस पटक कीर्तिपुरमै मत हाल्छु, दलको आधारमा भन्दा पनि काम गर्न र जित्न सक्ने दललाई मत दिन्छु, यो निर्वाचनमा छोरा साथमा नभएकाले पनि म उसलाई बढी सम्झिरहेको छु,’ विष्णुमायाले भनिन् ।
बल्खुमा तरकारी पसल चलाइरहेकी ३० वर्षीया गुनु महर्जन पनि यस पटक मत हाल्ने तयारीमा छिन् । अघिल्लो स्थानीय निर्वाचनबारे अलि –अलि सम्झना भएको बताउँदै उनी भन्छिन्, ‘मत त दिनैप¥यो तर चुनावको भोलिपल्ट नेताहरुले हामीलाई चिन्ने हुन् कि होइनन् ?’
नुवाकोटको मनकामना गाउँपालिकाका ६१ वर्षीय छविलाल भट्टराई भने तस्बिरसहितको मतदाता नामावलीमा नाम छुटेका कारण मत हाल्न नपाइने चिन्तामा छन् ।