
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तीनै तहका सरकारको आलोचना गरेका छन् ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा बोल्दै तीन वटै तहका सरकारहरू 'छाडा' भएको आरोप लगाएका हुन् ।
'केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरू छाडा भएका छन्,' नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'सच्याउन र सच्चिन ढिलो भइसकेको छ । यसमा गम्भीर समीक्षा आवश्यक छ । जनतालाई के वाचा गरिएको थियो र अहिले के हुँदैछ भनेर नेतृत्वमा रहेकाले आत्मसमीक्षा गर्नुपर्छ ।'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरे । 'सच्चिने प्रक्रिया माथिबाट नै शुरू हुनुपर्छ,' उनले बैठकमा भने, 'आलटाल र धोखाधडी अब चल्दैन ।'
बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले पनि प्रस्ताव ल्याउने र त्यसका लागि केही समय लाग्ने बताएका थिए ।
ओलीकै आग्रहबमोजिम सचिवालय बैठक १० दिन पछाडि अर्थात मङ्सिर १३ गते बस्ने भएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै १८ गते स्थायी कमिटीको बैठक बस्ने र २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको सुनाए ।
यसअघि मंसिर १५ देखि बोलाइएको केन्द्रीय कमिटी बैठक १० दिन पर सरेको हो ।
१३ गते बस्ने सचिवालय बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी आएको प्रवक्ता श्रेष्ठले बताए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रवार नै राजनीतिक दस्तावेज पेश गरेका छन् ।