२२ जेठ २०८३, शुक्रबार

च्याउखेती गर्दा छैन बजारको चिन्ता, घरपरिवारमै बसेर मनग्य कमाइ

मंसिर ४, २०७७
च्याउखेती गर्दा छैन बजारको चिन्ता, घरपरिवारमै बसेर मनग्य कमाइ
प्रतिकात्मक तस्वीर

कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् ।

उनीहरूले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले  मनग्य आम्दानी समेत लिन थालेका छन् । ६ हजार लगानीबाट च्याउखेती शुरूआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले २ लाख रुपैयाँको लगानी गरेका छन् । उनले कन्य च्याउ र गोब्रे च्याउ गरी २ थरिका च्याउ उत्पादन गरिरहेका छन् ।

‘मैले विगतमा धेरै काम गरें तर अहिले च्याउखेतीमा भने सन्तुष्ट छु,’ उनले भने, ‘२ जातका च्याउ उत्पादन गर्छु, बजारको चिन्ता छैन, खपत सहजै भइरहेको छ ।’

अन्य कामभन्दा कम लगानी र घरमै बसेर गर्न सकिने भएकाले च्याउखेती रोजेको उनको भनाइ छ । ‘शुरूमा थोरै लगानीबाट शुरू गर्न सकिन्छ, तरकारी भएकाले बिक्री भइहाल्छ,’ उनले भने, ‘घरपरिवार मिलेर गर्न सकिन्छ, यसले कामदार व्यवस्थापनमा समेत सहयोग पुगेको छ । च्याउसँगै अन्य काम पनि गर्न सकिन्छ ।’

जानकी–५ का एञ्जिल चौधरीले पनि गत वर्षदेखि च्याउखेती शुरूआत गरेका छन् । उनले रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा च्याउखेती गरेका हुन् । ‘आधा लगानी सिँचाइ आयोजनाले गरिदिएपछि म थप हौसिएको छु । अहिले ६०० पोका च्याउ उत्पादन गरिरहेको छु,’ उनले भने, ‘मेरो बारीमा उत्पादन भएको च्याउ टीकापुर, लम्की, जोशीपुर, भजनी र धनगढीसम्म जाने गरेको छ ।’

उनको व्यवसायमा पनि ५ जना घरका सदस्य आफैंले काम गरिरहेका छन् । बजारीकरणका लागि २ जना कामदार समेत राखेका छन् ।

कामका लागि युवाहरू विभिन्न ठाउँ भौतारिनुभन्दा यसरी व्यवसाय थालेमा यही राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ । ‘बेरोजगार भयौं भनी धेरै युवाहरू भारत तथा विदेश जान थालेका छन्, कोरोना संक्रमण फैलिएपछि यहाँका अधिकांश युवा भारत पसेका छन्,’ उनले भने, ‘बेरोजगार बस्नु, विदेश जानुभन्दा यही कृषिमा लागे राम्रो आम्दानी गर्न सकिन्छ ।’

गाउँपालिकाले पनि युवालाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कृषिमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी युवालाई लक्ष्य गरेर कृषिकर्म गर्ने युवालाई गाउँपालिकाले सघाइरहेको जानकारी दिन्छन् । ‘तालिम, प्राविधिक ज्ञान दिने काम गाउँपालिकाले गरिरहेको छ,’ उनी भन्छन्, ‘यसका साथै नयाँ कृषि व्यवसाय गर्न चाहनेका लागि गाउँपालिकाले थप सहयोग गर्न सक्छ ।’

कृषक अगुवा सन्दीप चौधरी पछिल्लो समय युवाहरु कामको खोजीमा विदेशिने क्रम बढेकाले स्थानीय सरकारले स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् । ‘अबको भविष्य भनेको कृषि नै हो, कृषिलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ,’ उनी भन्छन्, ‘अनुदान मात्र नभई बजारीकरणमा समेत सहयोग गर्न आवश्यक छ ।’

salt training

कमेन्ट गर्नुहोस्