२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई

मंसिर ४, २०७७
प्रधानमन्त्री ओलीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा संघका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधवार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् ।

म्यान्मामा हालै भएको आमनिर्वाचनमा नेसनल लिग फर डेमोक्रेसी भारी बहुमतका विजयी भएकामा बधाई ज्ञापन गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेत्री सुचीको सक्षम नेतृत्व र जनतामाझ उनीप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताएका छन् ।

२ वर्षअघि नेत्री सुचीले सफलतापूर्वक गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले नेपाल र म्यान्माबीच विद्यमान निकटतम सांस्कृतिक सम्बन्ध एवं मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

यसैगरी, बहराइनका अधिराजकुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाएको शुभकामना सन्देशमा सन् १९७७ मा नेपाल र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बध उत्कृष्ट रहेको बताए । साथै उनले आगामी दिनमा विद्यमान द्विदेशीय सम्बन्ध अझ उन्नत एवं विस्तार हुने आशा व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्