
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल दुर्घटनामा परी ३ वर्षीय बालकको मृत्यु भएको ४८ घण्टापछि २ जनालाई पक्राउ गरेको छ ।
बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मंसिर २ गते मंगलवार साँझ वीरेन्द्रनगर–१ बाँगेशीमलका ३ वर्षीय बालक समिर नेपालीलाई जिल्ला प्रहरी कार्यालयको गेट अगाडि लु६२प ७००३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सीसीटीभी क्यामेराको सहयोगमा हुलिया पत्ता लगाउँदै बिहीवार २ जनालाई नियन्त्रणमा लिइएको बताए ।
दुर्घटनामा संलग्न वीरेन्द्रनगर नगरपालिका–५ तारामी टोलका १८ वर्षीय जीवन चौहान र पछाडि बसेका १७ वर्षीय नविन भनिने अमर सलामी मगरलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
‘चालकले सवारी चालक अनुमतिपत्र घरमै भएको बताएका छन् । हामी आवश्यक छानबिनमा छौं,’ उनले भने । पछाडि बसेका अमरलाई दुर्घटनापश्चात घाइतेलाई उद्धार नगरेको तथा प्रहरीलाई खबर नगरेकाले पक्राउ गरिएको उनले बताए ।