२३ असार २०८३, मंगलबार
नेकपा विवाद

परिस्थिति गम्भीर छ, तर समाधानहीन छैन : प्रचण्ड

मंसिर ५, २०७७
परिस्थिति गम्भीर छ, तर समाधानहीन छैन : प्रचण्ड
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अवस्था गम्भीर रहे पनि समाधानहीन नभएको प्रतिक्रिया दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा लोकान्तरसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी गम्भीर अवस्थामा रहे पनि समस्या समाधान गर्न सकिने बताएका हुन् ।

‘पार्टीभित्रको विवाद देखिराख्नुभएको छ, म धेरै बोल्न मिल्दैन, तर परिस्थिति गम्भीर भएपनि समाधानहीन भने छैन,’ प्रचण्डले भने ।  

पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले शुक्रवार नै महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग धुम्बाराहीमा छुट्टा–छुट्टै छलफल गरेका छन् ।

पौडेलसँगको भेटपछि प्रचण्डलाई भेट्न नेम्वाङ पार्टी कार्यालयमा पुगेका छन् । प्रचण्डसँग शुक्रवार भएको भेटपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पौडेलले परिस्थिति धेरै गम्भीर रहेको बताएका थिए ।

‘परिस्थिति धेरै गम्भीर छ,’ पत्रकारहरूले बोल्न कर गरेपछि पौडेलले यति प्रतिक्रिया दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र पेश गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ । 

बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको आरोपको जवाफ दिने बताएका छन् ।

प्रचण्ड र महासचिव पौडेल भेट गर्दैगर्दा पार्टी कार्यालयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि कार्यकर्तासँग भेटवार्ता गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्