काठमाडौं, ३१ वैशाख— बीस वर्षपछि भएको स्थानीय तह निर्वाचनमा मतदान गर्न केही कठिनाइ भएको गुनासो राजधानीका मतदाताहरुले गरेका छन् ।
मतदानका क्रममा आफूहरुले केही असजहता महसूस गरेको मतदाताले बताए ।
काठमाडौं महानगरपालिका वडा नं ३१ को मतदान केन्द्र इन्द्रधनुष स्कूलमा मतदानका लागि एक घण्टा कुर्नुपरेको उनीहरूले गुनासो गरेका हुन् ।
‘सातै बजे आइपुगेको, आठ बजे बल्ल मतदान गर्न पाइयो,’ स्थानीय मतदाता नारायण भट्टराईले लोकान्तरसँग भने, ‘पुरुष र महिलाका लागि जम्मा एउटा एउटा बूथ राखेपछि ढिलो त हुने नै भयो ।’
अघिल्लो निर्वाचन (दोस्रो संविधानसभा निर्वाचन) मा एउटा मतदान केन्द्रमा कम्तीमा चारवटा बूथ रहेकोमा यसपाली जम्मा दुईवटा बूथ राखिएको उनीहरूले बताए । त्यसले समस्या ल्याएको उनीहरूको भनाइ छ ।
त्यसमाथि ज्येष्ठ मतदाताहरूलाई मत दिनका लागि प्राथमिकता दिनुपर्दा मतदान प्रक्रिया झनै ढिलो बन्न पुगेको छ ।
‘ज्येष्ठ मतदातालाई मतदानमा सहायता गर्न उनीहरूका नातेदार जानुसम्म ठीकै हो तर ती सबल मतदाताले पनि लाइन मिचेर भोट हालेको चाहिँ अति नै भयो,’ लाइनमा लागेका स्थानीय मतदाता शोभन बस्नेतले गुनासो गरे ।
बस्नेतले मतदान अधिकृतलाई बोलाएर ज्येष्ठ मतदातासँग जाने मतदातालाई चाहिँ लाइन लागेर भोट हाल्न लगाउनका लागि अनुरोध गरे ।
‘यही ताल हो भने त राति १ बजेसम्म पनि मत हाल्न पाउँदैैनन् मान्छेले । अझ दिउँसो चर्को घाममा को लाइन लागेर बस्छ भन्या ?’ बस्नेतले चर्को स्वरमा बताए । इन्द्रधनुष स्कूल मतदान केन्द्रमा कुल ९०० मतदाता छन् ।
अधिकांश मतदातामा मतदान प्रक्रियाका बारेमा पनि अन्योल देखिन्थ्यो । मतदाता शिक्षामा निर्वाचन आयोग यसपाली पछि परेको देखियो ।
‘खै, सात ठाउँमा स्वस्तिक हान्नुपर्छ भन्छन्, अलि अप्ठ्यारै पो रहेछ,’ स्थानीय मतदाता शैलजा श्रेष्ठले बताइन् ।
मतदानका लागि सहज स्थिति बनाउनका लागि मतदाताहरूले मतदान अधिकृतलाई आग्रह गरिरहेको देखिन्थ्यो ।