काठमाडौं, ३१ वैशाख– दोस्रो संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले स्थानीय तह निर्वाचनमा आज बिहान मतदान गरेका छन् ।
रेग्मीले काठमाडौं महानगरपालिका वार्ड नम्बर १० स्थित बानेश्वर हाइटमा रहेको सानो गौचरण पार्क मतदान केन्द्रमा सपरिवार पुगि विहान पौने ९ बजे मतदान गरेका हुन् । पुख्र्यौली घर पाल्पा भए पनि रेग्मीको राजधानी काठमाडौंको मध्यबानेश्वरमा निवास छ । मतदाता नामावली सूचिमा रेग्मीको नाम काठमाडौंमा छ ।
यस अघि आफ्नै नेतुत्वको सरकारले दोस्रो र ऐतिहासिक संविधानसभा निर्वाचन गराउँदा पनि रेग्मीले काठमाडौंबाटै मतदान गरेका थिए ।

पहिलो संविधानसभा विघटनसँगै राजनीतिक दलहरुमा चुनावी सरकार गठनमा असन्तुष्टि चुलिएछि रेग्मीको नेतृत्वमा अन्तरीम चुनावी मन्त्रिपरिषद् गठन गर्न दलहरु सहमत भएका थिए । पटक पटकको आग्रहपछि चुनावी मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्दै रेग्मीले २०७० सालको मंसिर ४ मा दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराएका थिए । नेपालको इतिहासमै पहिलो पटक दोस्रो संविधानसभा निर्वाचनमा सवैभन्दा बढी ७९ प्रतिशत मत खसेको थियो ।
दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले २०७२ साल असोज ३ गते नयाँ संविधान घोषणा गरेको थियो । त्यसपछि स्थानीय तह निर्वाचन भएको हो । यस अघि २०५४ सालमा स्थानीय निकायको निर्वाचन भएको थियो । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मतदातामा उत्साह देखिएको छ ।