

पवन मदुश्रीद्वारा लिखित ‘नमुना, विकास र राजनीतिक’ आलेख सङ्गालोको यहाँ आज लोकार्पण गर्दै उहाँले सबै भाषा जातिलाई समेटर संविधान बनाएको हुनाले संविधान पालना गरेर अहिलेको राजनीतिक निकास दिनुपर्ने बताउनुभयो ।
उहाँले भोलि संविधान अभ्यासमा लैजाँदा संशोधन गर्न सकिने उल्लेख गर्दै अहिले संविधानले कसैलाई पनि अप्ठ्यारो नपारेकाले संशोधन औचित्यहिन भएको बताउनुभयो ।
पूर्वगृहमन्त्री समेत रहनुभएको रावलले अहिले संविधान कार्यान्वयन गर्नुको सट्टा देशलाई अनिष्टतर्फ लैजानका लागि संशोधन गर्न खोजेर अर्कै बाजा बजाउन थालेको आरोप लगाउनुभयो ।
“लगनको बेला मलामीको बाजा बजाउन खोजिँदैछ”– उहाँले भन्नुभयो, “संशोधनको कुराले अनिष्टको सङ्केत गर्दछ ।” उहाँले आफू धेरैपटक मधेसवादी दलका नेतासँग छलफल गरे पनि संविधानको यो धाराले अप्ठ्यारो पा¥यो भनेर नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले राजनीतिक ठीक ढङ्गले नचल्दा जनताले चाहेको विकास हुन नसकेको भन्दै राजनीतिकलाई सही बाटोमा हिँडाउनका लागि पुस्तक प्रेरणादायी हुने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रित र चेतनाथ कँडेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा स्थानीयदेखि राष्ट्रियस्तरसम्म विकास र राजनीतिमा घटेका घटनालाई सिलसिलेवार प्रस्तुत गरेको बताउनुभयो ।
लेखक मदुश्रीले संविधान बन्नुभन्दा अगाडि देखिएका राजनीतिक घटना र विकासका कुरालाई पुस्तकमा समेटेको बताउनुभयो । पुस्तकमा संविधान, स्थानीय शासन, राजनीतिक दल विषयमा ५० आलेख रहेका छन् । रासस