२४ जेठ २०८३, आइतबार

बुढ्यौली रोक्ने विधि पत्ता लगाएको इजरायली वैज्ञानिकहरूको दाबी

मंसिर ४, २०७७
बुढ्यौली रोक्ने विधि पत्ता लगाएको इजरायली वैज्ञानिकहरूको दाबी

इजरायलमा वैज्ञानिक अनुसन्धाताहरूले अक्सिजन उपचारमार्फत बुढ्यौली रोक्ने उपाय पत्ता लगाएको दाबी गरेका छन् । 

हुन त यो सानोतिनो अध्ययन हो तर यसले मानिसमा हुने बुढ्यौलीको प्रक्रिया थप बुझ्न सहायता गर्नेछ । 

मानव शरीरमा हुने क्रोमोजोमको पुछारमा भएका कुरालाई टेलोमिर भनिन्छ र यो छोटो हुँदै जानु बुढ्यौलीको एक लक्षण हो । यी टेलोमिरहरू कोशिका विभाजन भएपिच्छे छोटिँदै जान्छन् अनि प्रत्येक नयाँ क्रोमोजोम अघिल्लोभन्दा केही कम हुँदै जान्छ । 

यसले कोशिकाको रूप परिवर्तन हुने जोखिम बढाउँछ अनि उमेर बढेसँगै हुने विशेष किसिमका क्यान्सर गराउँछ । 

तेल अभिभ विश्वविद्यालयको फ्याकल्टी अफ मेडिसिन यान्ड सागोल स्कूल अफ न्युुरोसाइन्सका चिकित्सक शाइर एफरातीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले हाइपरबेरिक अक्सिजन थेरापी उपयोग गरेर यी टेलोमिरहरूको लम्बाइ बढाउँदै यस प्रक्रियालाई आंशिक रूपमा उल्ट्याउन सकिने दाबी गरेका छन् । 

उनीहरू ६४ वा त्यसभन्दा बढी उमेर भएका २६ जना स्वयंसेवीलाई हाइपरबेरिक अक्सिजन च्याम्बरमा तीन महिनासम्म प्रत्येक हप्ता डेढ घन्टाको पाँचवटा सेसनमा राखे । यस प्रक्रियाभरि उनीहरूले नियमित रूपमा नमूना संकलन गरे । 

अध्ययनको अन्त्यमा केही स्वयंसेवीको टेलोमिर २० प्रतिशतले बढेको उनीहरूले पाए । 
 

टेलोमिर खुम्चिँदै जानुको प्रत्यक्ष परिणामस्वरूप बुढ्यौली आउने भन्ने हैन तर क्रोमोजोमहरूलाई ढाकेर राख्दा वृद्ध अवस्थामा कोशिकाको प्रदर्शन राम्रो हुन्छ । मज्जाले सुत्ने, व्यायाम गर्ने र स्वस्थ खानेकुरा खाने गर्दा पनि टेलोमिर खुम्चिने प्रक्रियालाई घटाउन सकिन्छ । तर हाइपरबेरिक अक्सिजन थेरापी उपयोग गर्दा शरीरमा थप स्वस्थ टेलोमिरहरू विकसित गर्न मद्दत गर्छ । 

तर आफूहरूको अध्ययन निकै सानो स्याम्पल साइजमा आधारित रहेको र यस्तै किसिमका थप अध्ययन गर्नुपर्ने भनी अनुसन्धाताहरूले स्वीकार गरेका छन् । यसअघि यस विधिको प्रयोग विफल भएको पनि उनीहरूले स्वीकारेका छन् । 
 

टेलोमिर छोटो हुने प्रक्रियाको पूर्ण ज्ञान र समझदारीले बुढ्यौली प्रक्रियालाई राम्ररी बुझ्न सम्भव बनाएको एफरातीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्