भारत, भुटान र चीनको त्रिदेशीय विन्दु रहेको स्थान दोक्लममा चीनले भुटानी भूमिको नौ किलोमिटर क्षेत्रभित्र सडक बनाएको भारतीय टीभी च्यानल एनडीटीभीले दाबी गरेको छ ।
त्यसका साथै चीनले भुटानी भूभागको दुई किलोमिटरभित्र गाउँ बसाएको समेत च्यानलको दाबी छ ।
यस सडकले चिनियाँ सुरक्षाबललाई जोम्पलरी पुग्ने वैकल्पिक बाटो दिएको छ । सन् २०१७ मा दुई पक्षले दोक्लममा आमनेसामनेको स्थिति रहँदा त्यहाँ पुग्न भारतीय सेनाले चिनियाँ सेनालाई रोकेको थियो ।
भारतीय सैनिकहरूले चिनियाँ मजदूरहरूलाई जोम्परली पुग्ने सडक बनाउन रोकेका थिए किनकि त्यहाँबाछ भारततको चिकेन्स नेक स्पष्टसँग देखिन्थ्यो ।
तर त्यसको तीन वर्षपछि अहिले चिनियाँ मजदूरहरूले तोर्सा नदीको किनारमा नयाँ सडक बनाइसकेका छन् । त्यो चीन र भुटानको सीमाबाट दक्षिणतिर जान्छ ।
तीन वर्षअघि दुई महिनासम्म भारत र चीनका सैनिकहरू आमनेसामने भएको क्षेत्रभन्दा १० किलोमिटर मात्र पर सडक बनेको हो ।
‘चिनियाँहरूले सन् २०१७ मा गतिरोध भएको स्थानलाई त्यत्तिकै छोडेका छन् । त्यो दोक्लमको एक कुनामा पर्छ,’ रणनीतिक मामिलाविद् डा ब्रह्मा चलानीले बताए । ‘तर एकपछि अर्को कदम चाल्दै उनीहरूले दोक्लमको
अन्य क्षेत्रमा यथास्थितिमा परिवर्तन ल्याइरहेका छन् । तीन वर्षअघि आबादी नभएको पठारमा समेत उनीहरूले स्थायी संरचना र सडकहरू बनाइरहेका छन् ।’
चीनको सरकारी टेलिभिजन सीजीटीएनका वरिष्ठ निर्माता शेन शिवेईले दोक्लमको पूर्वी भागमा चीनले सडक र गाउँ बनाएको स्पष्ट प्रमाणका रूपमा नदी किनारको गाउँका तस्वीरहरू सार्वजनिक गरे ।