१५ असार २०८३, सोमबार

सुत्केरीको मृत्युपछि स्वास्थ्यकर्मी भागे

मंसिर ८, २०७७
सुत्केरीको मृत्युपछि स्वास्थ्यकर्मी भागे

 शल्यक्रियाबाट प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएपछि चिकित्सकको लापरबाही भन्दै आफन्तले लहान–३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा तोडफोड गरेका छन् ।

सुखीपुर–९ बैसाखा मोहनपुरीकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो । घटनापछि आक्रोशित आफन्तले तोडफोड गरेपछि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी भागेका छन् ।

मृतकका आफन्तले आइतबार बिहान पूर्वपश्चिम राजमार्गमा २ घण्टा आवागमन अवरुद्ध पार्नुका साथै अस्पताल अगाडि दिनभर प्रदर्शन गरेका छन् ।

‘डाक्टरको लापरबाहीले मेरी पत्नीको मृत्यु भएको हो,’ प्रमोद साहले भने, ‘लापरबाही गर्नेलाई कारबाही हुनुपर्छ ।’ आक्रोशितको भीडले अस्पतालको गेटमै रहेको फार्मेसीका औषधि, फर्निचरलगायत फाल्नुका साथै सिसा तोडफोड गरेको छ । शल्यक्रियाका क्रममा आमाको मृत्यु भए पनि नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पतालमा सारिएको छ । जेठो छोरा ८ वर्षको भएपछि आरतीलाई दोस्रो सन्तानको जन्मका लागि अस्पताल लगिएको थियो । आरतीको अपरेसन अस्पताल सञ्चालकसमेत रहेका डा. चन्द्रशेखर यादवसहित चार जनाको टोलीले गरेको थियो ।

‘अपरेसनबाट छोरी जन्मिएपछि राति साढे ७ बजेसम्म डाक्टरले आरतीलाई ठीकै छ भनेका थिए,’ प्रमोदले भने, ‘त्यसपछि डा. यादवसहित अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी एक–एक गरी ९ बजेभित्रै सबै निस्किए ।’ शल्यक्रिया गर्ने क्रममा आरतीको मृत्यु भएपछि मृतकलाई त्यत्तिकै छाडेर डाक्टरसहित सबै एक–एक गरी भागेको पीडितका आफन्तले बताए । अस्पतालविरुद्ध प्रमोदले प्रहरीमा उजुरी दर्ता गराएका छन् । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मोबाइल अफ गरेर सम्पर्कविहीन भइ बसेका छन् । शव पोस्टमार्टमका लागि धरान पठाएर घटनाको छानबिन भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षत्रीले बताए ।

जिल्ला प्रशासन कार्यालयले पनि घटनाको छानबिन गर्न समिति गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवको संयोजकत्वको समितिले उक्त अस्पतालको सञ्चालन अनुमतिसँगै घटनाको छानबिन थालेको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा १५ शय्यासम्मको अस्पताल सञ्चालन अनुमति स्थानीय तहबाटै दिन सकिने प्रावधान छ । लहानमा लहान अस्पताल, सप्तऋषि अस्पताल र पिपुल लिभिङ गरी तीनवटा अस्पतालले मात्र सञ्चालन अनुमति लिएको नगरपालिकाका स्वास्थ्य प्रमुख रामसुन्दर यादवले बताए । कान्तिपुर दैनिकमा भरत जर्घामगरले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्