
लद्दाखको चिसो टाकुरामा भारतीय सैनिकहरूले अनेकौं कठिनाइ बेहोरिरहेका छन् । तर चीनबाट भएको एउटा आक्रमणको कसैले पनि अपेक्षा गरेको थिएन ।
चिनियाँ सैनिकहरूको गतिविधिमा चनाखो आँखा लगाइरहेका भारतीय सैनिकहरू एक मिनेटभित्र लगालग बान्ता गर्न थाले ।
उनीहरूको शरीर कमजोर भयो र केही त उभिन पनि सकेनन् । उनीहरू पहाडको टाकुराबाट भागे अनि चिनियाँ सैनिकहरू त्यहाँ पुगेर कब्जा गरे । एउटा पनि गोली चलाउन परेन ।
गत अगस्ट महिनामा भएको यो अनौठो घटनाका बारेमा धेरैले थाहा पाएकै थिएनन् तर अघिल्लो साता बेइजिङको रेनमिन विश्वविद्यालयमा विद्यार्थीहरूलाई पढाउँदै गर्दा चिनियाँ प्राध्यापक जिन कानरोङले यस घटनाका बारेमा मात्र बताएनन्, गोप्य हतियारको पनि जानकारी दिए ।
प्राध्यापक जिनका अनुसार, चिनियाँहरूले भारतीयविरुद्ध माइक्रोवेभ हतियार उपयोग गरेका थिए । उनीहरूले भारतीय सैनिकमाथि उच्च फ्रिक्वेन्सीको विद्युतीय–चुम्बकीय पल्सहरू फ्याँकेका थिए जसले गर्दा शरीर तात्यो अनि पीडा भयो । चिनियाँहरूले पहाडका टाकुरालाई विशाल माइक्रोवेभ ओभन बनाए र शत्रुलाई जिउँदै जलाउने स्थितिमा पुर्याए ।
‘हामीले यस समस्यालाई सुन्दर तरिकाले हल गर्यौं,’ प्राध्यापक जिनले भने । ‘भारतीयहरूले पनि यस घटनाको विवरण सार्वजनिक गरेनन् किनकि उनीहरूले बेइज्जतीपूर्ण हार बेहोरेका थिए ।’
निर्देशित–ऊर्जा हतियार (डीईडब्ल्यू) को अस्तित्व लामो समयदेखि नै छ तर पहिलोपटक यस्तो हतियारको खुलमखुला प्रयोग भएको पाइएको छ ।
अमेरिकी सेनाले पनि आफ्नै किसिमको डीईएडब्ल्यू विकसित गरेको छ । सन् २०१० मा अफगानिस्तानमा यसको तैनाथी गरिएको थियो तर लडाइँमा उपयोग नगरी यसलाई हटाइयो ।
भारतीय सेनाले प्राध्यापक जिनको दाबीलाई झूटो समाचार पनि खारेज गरिदिएको छ । तर बेलायती संसद्को डिफेन्स सेलेक्ट कमिटीका अध्यक्ष टोयिबास एलवूडले यसमा विश्वास गरेका छन् ।
‘चिनियाँहरूले केही समयदेखि यस्ता हतियारबारे अनुसन्धान र विकास गरिरहेका छन्,’ उनले बेलायतबाट प्रकाशित हुने पत्रिका द डेली मेललाई बताए । अझ डरलाग्दो कुरा त, यस्ता हतियारहरू गोप्य रूपमा अन्यत्र पनि उपयोग भइरहेका हुन सक्छन् ।
क्युबाको राजधानी हवानामा रहेको अमेरिकी दूतावासका कर्मचारीमाथि सन् २०१७ मा यस्तो हतियारबाट आक्रमण भएको बताइएको छ ।
त्यसमा अमेरिकाको गुप्तचर निकाय सीआईएले अनुसन्धान गरिरहेको छ ।