
काठमाडौं, ३१ वैशाख – काठमाडौं किर्तिपुरका जेष्ठ नागरिकहरूले लामो मतपत्रका कारण भोट हाल्न गाह्रो भएको बताएका छन् । उनीहरुले लामो मतपत्र भएको कारणले चुनाव चिन्ह खोज्दा हातै काँपेको बताए ।
किर्तिपुर नगरपालिका वडा नम्बर २ देवलढोका इन्द्रायणी प्राथमिक विद्यालयमा मतदान गरेर बसेका बृद्धबृद्धाहरुले मत पत्र लामो भएकोले मत व्यक्त गर्न कठिन भएको बताए । ‘२० वर्षपछि भोट हाल्दा निकै खुसी लाग्यो,’ ८० वर्षकी मोहन माया महर्जनले भनिन, ‘तर यसपालीको मतपत्र साह्रै ठूलो रैछ ।’ नेवारी भाषा मात्रै बोल्ने उनले दोभाषेको सहयोगमा लोकान्तरसँग कुराकानी गरेकी थिइन् ।

सोही ठाउँमा भेटिएकी ७२ वर्षीय रत्नमाया महर्जनले पनि लामो समय पछि भोट दिन पाउँदा आफूलाई गज्जव लागेको प्रतिक्रिया दिइन् ।

अर्का जेष्ठ नागरिक ७० वर्षयीय तुमुबहादुर महर्जनले लामो मतपत्र भएपनि आफूले ४÷५ वटा चिन्हका उम्मेदवारलाई सजिलैसँग मतदान गरेको बताए । तर यसपालीको मतपत्र झुक्याउने खालको रहेको उनले बताए ।