०३ साउन २०८३, आइतबार

मतपत्रै ६८ लाइनको, मतदातालाई सास्ती

मतपत्रै ६८ लाइनको,  मतदातालाई सास्ती

ललितपुर, ३१ वैशाख –स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि धेरै दल दर्ता भएका काठमाडौँ, ललितपुर, भक्तपुरलगायत १६ जिल्लामा ६८ लाइन भएको सबैभन्दा लामो मतपत्र बनाएको छ । लामो भएका कारण मतपत्रमा चुनाव चिह्न खोज्न मात्र नभई स्वस्तिक छाप लगाउन र मतपेटिका राख्दा पट्याउनसमेत गाह्रो भएको मतदाताको भनाइ छ ।

ललितपुरको एकान्तकुनामा रहेको वाग्मती अञ्चल यातायात कार्यालयस्थित मतदान केन्द्रमा भेटिनुभएकी सुमती शाक्यले मतपत्र लामो भएका कारण चुनाव चिह्न खोज्न समय लागेको र निकै ध्यान दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।

सोही मतदान केन्द्रमा मतदान गर्नुभएकी सविता तिमिल्सिनाले पनि लामो मतपत्र भएकाले मतदान गरिसकेपछि पट्याउँदा स्वस्तिक छापको मसी लत्पतिन्छ भन्नेमा हेक्का राख्नुपर्ने बताउनुभयो । धेरै चुनाव चिह्न भएका कारण फरक फरक दलका वा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न निकै होसियार हुनुपर्ने शाक्यको भनाइ छ । निर्वाचनमा मतदाता शिक्षाको कमी भएको उहाँको गुनासो थियो ।

ललितपुरकै खुमलटार मतदान केन्द्रमा मतदान गर्नुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले ठूलो मतपत्र भए पनि स्वस्तिक छाप लगाउने ठाउँ सानो भएका कारण मतदान गर्न निकै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । मतदान गर्न ज्येष्ठ नागरिक र हात काम्ने व्यक्तिलाई गाहे भएको हुनसक्ने बताउँदै गाउँलेले आगामी दिनमा उम्मेदवारको मनोनयन दर्तापछि मात्र मतपत्र छाप्नुपर्ने सुझाव दिनुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो । ललितपुरका अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मानिसहरु मतदानका लागि लामबद्ध थिए । विसं २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा छ हजार छ सय ४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ । निर्वाचन अन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचित हुनेछन् ।

ललितपुरको जावलाखेलस्थित मतदान केन्द्रमा मत दिनुभएकी पत्रकार बबिता बस्नेतले भने मतपत्र ठूलो भए पनि मतदान गर्न खासै गाहे नभएको बताउनुभयो । स्थानीय तहको निर्वाचन लामो समयको अन्तरालमा भएकाले मतदाताले उत्साहका साथ मतदान गरिरहेको उहाँको भनाइ छ ।

त्यस्तै पाटन दरबार स्क्वायरस्थित मतदान केन्द्रमा मतदान गर्नुभएकी बालकुमारी शिल्पकारले पनि मतपत्र ठूलो भए पनि मतदान गर्न कुनै समस्या नभएको बताउनुभयो । सोही केन्द्रमा भेटिनुभएका अमिरमान वज्राचार्यले भने मतपत्र राख्ने टेबलसमेत सानो भएकाले चुनाव चिह्न खोज्न अफ्ठ्यारो भएको गुनासो गर्नुभयो ।

ललितपुरमा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका गरी छ स्थानीय तहको निर्वाचन भइरहेको छ । कुल २९ वडा रहेको महानगरपालिकामा प्रमुखका लागि १४ र उपप्रमुखका लागि १२ तथा अन्य पदका गरी छ सय ३४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये चार जना निर्विरोध भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्