
काठमाडौं, ३१ वैशाख - काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँका बृद्ध मतदाताहरुले स्थानीय तहको निर्वाचनमा सहभागि बन्न पाउँदा निकै मज्जा आएको बताएका छन् । उनीहरुले आगामी निर्वाचनहरुमा पनि चाँडो चाँडो भोट हाल्न पाइयोस् भनेर अपेक्षा समेत गरे ।

मतदान केन्द्रमा भेटिएका ७४ वर्षका झलकबहादुर श्रेष्ठले १९ वर्ष पछि भोट हाल्न पाउँदा निकै खुसी लागेको बताए । उनले आफूलाई भोट हाल्न कुनै गाह्रो नभएको बताए । उनले मुस्कुराउँदै सात वटै ठाउँमा एक छापे भोट हालेको प्रतिक्रिया दिए ।

अब आफ्नो काम लिएर धुलिखेल तथा काठमाडौं जान नपर्ने भएकोमा खुसी समेत प्रकट गरे ।

त्यस्तै सोही ठाउँमा भेटिएका नारायणबहादुर श्रेष्ठले आफूलाई पनि निकै खुसी लागेको र जनप्रतिनिधी मार्फत काम गराउन सजिलो हुने बताए । उनले यस्तो गर्छौं भनेर प्रतिबद्धता जनाउनेहरुले खासै काम नगरेपनि जनप्रतिनिधीले चाहिँ काम गर्ने बताए ।

सोही केन्द्रमा भोट हालेका ७५ वर्षका प्रेमबहादुर सिंहले पनि निर्वाचनमा सहभागि बन्न पाउँदा निकै खुसी लागेको बताए । उनले यस्ता अवसरहरु चाँडो चाँडो आओस् भन्ने अपेक्षा समेत प्रकट गरे ।