
नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्ने बताएका छन् ।
महासंघको जारी साधारणसभाका क्रममा आजको बन्दसत्रमा उनले भने, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्वक हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।”
ढकालले भने, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”
उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होइनन् भने । सो क्रममा चन्द्रप्रसाद ढकालले भन्नुभयो “महाधिवेशन पछि पनि हामी टाढा हुने छैनौं हाम्रो व्यापार र हाम्रो उद्यमले हामिलाई जोड्ने नै छ ।”
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनु पर्ने बताएका छन् ।
राजधानीमा मंसिर ११ गतेबाट शुरू भएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेन्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उम्मेदवार दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गरे।