
महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले सिसिटिभी जडानसँगै उपत्यकाको अपराध नियन्त्रणमा कमी आउने बताएका छन् ।
चन्द्रागिरी नगरपालिकाअन्तर्गत नागढुङ्गा–कलङ्की सडकखण्डमा जडान गरिएका अत्याधुनिक सिसी क्यामराको ‘समुद्घाटन तथा हस्तान्तरण समारोहमा’ उनले अपराध नियन्त्रण, अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम सडक दुर्घटना न्यूनीकरणमा सहज पुग्ने बताए ।
समाजमा हुने घटना र दुर्घटना न्यूनीकरणको लागि सडकमा राखिएको सीसी क्यामराले अपराध अनुसन्धानमा निकै फलदायी हुने उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको जानकारी दिए ।