११ असार २०८३, बिहीबार

नेपाल-भारत सम्बन्ध २ देशको सरकारभन्दा माथि !

मंसिर १३, २०७७
नेपाल-भारत सम्बन्ध २ देशको सरकारभन्दा माथि !

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले नेपाल–भारतको सम्बन्ध दुई देशको सरकारको सम्बन्धभन्दा निकै उच्च रहेको बताएका छन् ।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै उनले विभिन्न रूपमा रहेको सम्बन्ध दुई देशको सरकारभन्दा माथि रहेको बताएका हुन्।

दुई वर्षअघि नेपाल भ्रमणको स्मरण गर्दै उनले भने, “भारतको नेपालसँगको सम्बन्ध पारिवारिक र मैत्रीपूर्ण छ, यो यहाँका जनताको आपसी र गहिरो सम्बन्धको बलियो जगमा उभिएको छ, जुन सम्बन्ध दुई सरकारको सम्बन्धभन्दा धेरै माथि छ ।”

दुई देशको उस्तै भूगोल, सभ्यता, सम्पदा, संस्कृति र प्रथा परम्परा रहेको चर्चा गर्दै उनले जसमा जनसम्बन्ध अधिक शक्तिशाली रहेको स्पष्ट पारे । दुवै देशका सरकार भावी पुस्ताप्रति जवाफदेही रहनुपर्ने भन्दै उनले दुई देशको हितमा काम गर्नुपर्नेमा जोड दिए । अबका दिनमा पनि घनिष्ट मित्र र छिमेकीका रूपमा सँगै काम गर्न आवश्यक रहेको औँल्याउँदै हाम्रा युवाको आकाङ्क्षा पूरा गर्न हामीले आवश्यक छ भने ।

“सशक्त र सहकार्यमुखी भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ,” उनले भने । छिमेकीलाई प्राथमकिता दिने नीति आफ्नो सरकारको रहेकाले पनि उच्चस्तरीय भ्रमणलाई महत्व दिएको उल्लेख गर्दै उनले भारतको विकास र आधुनिकीकरणमा प्रतिकात्मक रूपमा नेपालजस्तो छिमेकी मुलुकको विकास र आधुनिकीकरणसँग जोडिएको स्वीकार गरे ।

सयभन्दा बढी परियोजना पूरा

भारत र नेपालका जनता नै शक्तिको स्रोत रहेकाले दुवै देशको प्रयास उनीहरूलाई सक्षम बनाउनका लागि रहेको विदेश सचिव श्रृङ्गलाले बताए । भारतको सबका साथ, सबका विश्वास र नेपालको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा लक्षित गर्दै उनले आफ्नो धारणा व्यक्त गरे ।

उनका अनुसार यीबाहेक विकास सहयोग, बलियो कनेक्टिभिटी, विस्तारित पूर्वाधार र आर्थिक परियोजनाको चार खम्बामा दुई देशको सम्बन्ध अडिएको छ । भारतले सधैँ आफूलाई नेपालको अग्रणी मित्र र विकास साझेदारका रूपमा देखेको भन्दै उनले धेरै पहिले आफूले कनिष्ठ अधिकारीका रूपमा नेपालको पहाडी जिल्लामा आयोडिनयुक्त नुन वितरण गरेको स्मरण गरे । नेपाली समुदायको आवश्यकता अनुसार लागू भएका एक सयभन्दा बढी परियोजना पूरा भइसकेको जनाउ उनले दिए ।

नेपालका ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, संस्कृति संरक्षण कौशल विकास, कृषि परियोजना, युवा प्रशिक्षणजस्ता व्यक्तिको जीवनमा तत्काल सकारात्मक प्रभाव पार्ने काम भएको उनले प्रस्ट्याए । सीमा नाकाका सम्पर्क विस्तार र पूर्वाधारका परियोजना पनि महत्वपूर्ण छन् । भौतिक पूर्वाधारका परियोजनामा राजमार्ग निर्माण, रेल र एयर लिङ्क, अन्तरदेशीय जलमार्गले वस्तु र मानिसको आवागमन बढाउन मद्दत गर्ने छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्