
इन्जिनीयरिङको तयारीका लागि काठमाडौं पुगेका धनुषाका २१ वर्षीय विक्रम आदित्य महासेठ इन्जिनीयर त बन्न सकेनन् तर मोडल र कोरियोग्राफर बन्न सफल भए । ‘मोडल हन्ट नेपाल’को उपाधि जितेर मोडलिङको क्षेत्रमा जमेरै भविष्य बनाउन लागेका छन् महासेठ ।
धनुषाको शहीदनगर नगरपालिका–४ ननुपट्टीका विक्रम ३ वर्षअघि जनकपुरबाट १२ कक्षा उत्तीर्ण गरेर इन्जिनीयरिङको प्रवेश परीक्षाको तयारीका लागि काठमाडौं पुगेका थिए । केही महिनासम्म पढाइको तयारीमा लागे पनि आत्मविश्वास बढाउन उनले ४५ दिनको तालिम लिए ।
नेक्स्ट मोडल्स् नेपालले आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०१७’मा उनी पनि सहभागी भए । नेपालका कूल १०५ जना युवा र युवती सहभागी प्रतियोगितामा पहिलो चरणमा १० महिला र १० पुरुष गरेर ‘टप २०’मा पर्न सफल भएको उनी बताउँछन् । ‘प्रतियोगिताको दौरान फिजिकल राउन्ड, ट्यालेन्ट राउन्ड, प्री जजमेन्ट राउन्ड पार गर्दै अन्तिममा ५ पुरुष र ५ महिला गरी टप १० मा परेको थिएँ,’ विक्रमले भने, ‘अन्तिम फिनाले राउन्डमा जजसँग गरिएको प्रश्नोत्तर राउन्डमा समेत आफ्नो प्रतिभाको प्रदर्शन गरेपछि उपाधिको विजेता बन्न सफल भएको थिएँ ।’
उनका अनुसार अन्य प्रतियोगितामा जस्तो गीत, संगीत, नृत्य, अभिनय तथा सौन्दर्यता प्रदर्शनको आधारभन्दा पनि मोडल हन्टको उपाधिका लागि जजसँग छलफल गर्नुपर्ने र प्रश्नोत्तर राउन्डमा जजको प्रश्नलाई आश्वस्त गर्ने गरी उत्तर दिनुपर्छ ।
५० हजार रुपैयाँ नगद पुरस्कारसहित उपाधि जितेर इभेन्ट म्यानेजमेन्ट कम्पनीको रूपमा रहेको नेक्स्ट मोडेल्स नेपालसँग १ वर्षको लागि अनुबन्धित भएको उनले बताए । कम्पनीले आयोजन गर्ने ‘रन वे शो’, ‘फेसन शो’, ‘र्याम्प शो’ जस्ता कार्यक्रममा वाक गर्नेदेखि विभिन्न ब्राण्डका कम्पनीको विज्ञापनका लागि फोटो शूट गराउने र भिडियो शूट गराउने काम गरेको उनले बताए । एउटा र्याम्प शो तथा रन वे शोमा वाक गर्दा १५–२० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेको उनी बताउँछन् ।
त्यसपछि सन् २०१८ मा दक्षिण कोरियामा आयोजना भएको ‘फेस अफ एसिया’ प्रतियोगिताका लागि उनी सहभागी भएका थिए । विभिन्न देशबाट प्रतियोगिताका लागि कूल ७५ जना सहभागी भएकोमा नेपालको तर्फबाट पुरुषतर्फ उनी आफैं र महिला तर्फबाट पूजा श्रेष्ठ सहभागी भएका थिए । प्रतियोगिताको शीर्ष १५ भित्र पुगेर ‘फाइनलिस्ट’मा पुग्न सफल भए पनि विक्रमले उपाधि भने जित्न सकेनन् ।

सन् २०१९ मा दक्षिण कोरियामा लक्जरी ब्राण्ड मोडल अवार्डका लागि नेपालको तर्फबाट उनी सहभागी भएका थिए । ४५ जना सहभागी भएको अवार्ड शोको प्रतियोगितामा शीर्ष ५ जनामा परेर ‘सब टाइटल ब्राण्ड एम्बेस्डर’को उपाधि जित्न सफल भएको उनी बताउँछन् । सन् २०२२ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने वर्ल्ड फेसन परेडमा नेपालको तर्फबाट आफूले प्रतिनिधित्व गर्ने सुनिश्चित भइसकेको उनले बताए ।
चीनको बेइजिङमा मिस्टर ओसियनको उपाधिका लागि हुने प्रतियोगितामा समेत सहभागी हुने उनले बताए । ‘मैले मिस्टर ओसियन नेपालको उपाधि जितिसकेको कारण प्रतियोगितामा जाने निश्चित भइसकेको छ,’ उनले भने, ‘कोरोना महामारीका कारण प्रतियोगिताको मिति तय गरिएको छैन ।’

पढाइ सँगसँगै कमाइ
इन्जिनीयरिङ पढ्न काठमाडौं गए पनि इन्जिनीयर त बन्न सकेनन् तर पढाइलाई उनले छोडेका छैनन् । ‘अहिले बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु, मोडलिङ र कोरियोग्राफरको काम सँगसँगै अध्ययनलाई पनि निरन्तरता दिएकै छु,’ उनले भने, ‘पढाइ पनि त्यति नै आवश्यक छ, अहिले भर्खर २१ वर्षको भएको छु, पूरा उमेर अन्य करिअरको लागि बाँकी नै छ ।’
मोडल हन्टको उपाधि जितेपछि सिनेमा तथा म्युजिक भिडियो एल्बममा काम गर्ने प्रस्ताव आएको भए पनि अहिले अभिनयतर्फ रुचि नरहेको उनले बताए । नेपाली सिनेमा पसलेको मुख्य भूमिका र छक्का पञ्जाको सहायक भूमिका प्रस्ताव आएको उनी बताउँछन् । तर अभिनयमा आफू दक्ष नभएका कारण अभिनयतर्फ ध्यान नदिएको उनले बताए । अभिनय गर्नु नै परे भारतको मुम्बईमा गएर अभिनयको अध्ययन गरेर मात्र अभिनय क्षेत्रमा लाग्ने उनले बताए ।

‘अहिले र्याम्प शो, रन वे शो, फेशन शो आदिमा वाक गरेर नै वर्षमा १० लाख रुपैयाँसम्म कमाइ भइरहेको छ,’ उनले भने, ‘अहिले मलाई इभेन्ट शोमा नै ठीक लागेको छ ।’ हालसम्म कूल ५० वटाभन्दा बढी रन वे तथा र्याम्प शोमा वाक गरिसकेको उनी बताउँछन् ।
भारतको हिन्दी सिनेमाका अभिनेता आदित्य पंचोली उपस्थित भएको इबिजा नाइट शोमा वाक गर्नुका साथै मिस नेपाल र नेपालका अभिनेत्रीहरूसँग पनि काम गरेको उनले बताए । काठमाडौंस्थित भारतीय राजदूतावासले प्रत्येक वर्ष गान्धी जयन्तीको अवसरमा आयोजन गर्ने ‘खादी शो’मा समेत नेपालका अधिकांश अभिनेत्रीहरूसँग वाक गर्ने गरेको उनी बताउँछन् ।
मिस नेपालको उपाधि जितेका अभिनेत्रीहरू निकिता चन्डक, प्रमिता राणा, सिर्जना रेग्मी, नीति शाह, शृंखला खतिवडा, नेपाली सिनेमाका अभिनेता प्रशान्त ताम्राकरसँग समेत वाक गरेको उनले बताए ।
जनकपुर, बुटवल, भैरहवा, बर्दिबासमा मिस्टर एण्ड मिसको कार्यक्रम समेत आयोजना गराएको उनले बताए । ती कार्यक्रममा जजको भूमिकादेखि प्रतिस्पर्धीलाई वाक सिकाउने कोरियोग्राफरको भूमिका निर्वाह गरिरहेका छन् ।