काठमाडौं ३१ वैशाख - झण्डै दुइ दशकपछि भएको स्थानीय तहको निर्वाचनले प्राय सबै कलाकारलाई छोएको छ । सामाजिक सञ्जालमा समेत खुबै सक्रिय रहेका चर्चित कलाकारले बडो हर्षका साथ चुनावमा सहभागी भएका छन् । चर्चित नायिका एवं नयाँ शक्ति पार्टीकी नेतृ करिष्मा मानन्धरले आफ्नो फेसबुकमार्फत काठमाडौंबाट भोट हाल्न नपाएकोमा आक्रोश पोखेकी छिन् ।

चार दिनदेखि रुघाले सताएको बताउने महानायक राजेश हमालले लैनचौरको एक विद्यालयमार्फत भोट दिएका छन् । ‘मैले योभन्दा पहिले पनि स्थानीय निर्वाचनको चुनावमा भोट हालेको थिएँ । तर अहिलेको चुनाव धेरै नै फरक छ । यो चुनावले स्थानीय सरकार चुन्ने हो । यो हामी सबैका लागि ठूलो अवसर हो ।, उनले भने ।
अभिनेत्री तथा नयाँ शक्तिकी सदस्य समेत रहेकी करिश्मा मानन्धरले भने यो पटक भोट हाल्न पाइनन् । उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै काठमाडौंको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा उनले फेसबुकमा आफ्नो श्रीमानको कारणले आफूले भोट हाल्न नपाएको बताएकी छिन् ।
चर्चित नायिका केकी अधिकारीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूले भोट हालेको तस्वीर शेयर गर्दै ‘नेपालको जय होस्, नेपालीको जय होस्’ भन्ने अभिव्यक्ति दिएकी छिन् । अर्का गायक प्रमोद खरेलले आफ्नो फेसबुकमा मतदान गर्ने जनतालाई नेताले आज भगवानको रुपमा हेरेको स्टाटस राखेका छन् । ‘जनता यसरी नै आजजस्तै भगवान बन्ने दिन कहिले आउला?’, उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
त्यस्तै गायिका आस्था राउतले पनि आफूले भोट हालेको तस्वीर फेसबुकमा अपलोड गरेकी छिन् । उनले फेसबुकमा स्टाटस लेख्दै राम्रो उम्मेदवारलाई छान्नुपर्ने पनि लेखेकी छिन् ।
नायिका रेखा थापाले पनि मतदान गरिन । कतिपय कलाकारले आफूले उम्मेदवार नै ठानेको उनको भनाइ थियो । साथै उनले अर्को वर्ष आफूले राप्रपामार्फत उम्मेदवार दिने पनि बताएकी थिइन् । त्यस्तै आर्यन सिग्देलले थानकोटबाट भोट हालेका छन् ।
धेरैजसो कलाकारले आफूले हालेको भोटको उचित सदुपयोग हुन्छ भन्ने पनि आशा गरेका छन् ।