
बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, ८ र ७ वर्षीय ३ नाबालकलाई यौन दूराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई सोमवार पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एंव प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दूराचार गरिरहेको अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । प्रहरीले यौन दूराचारीमा परेका ३ नाबालकलाई समेत उद्धार गरेको छ ।
उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकेको छ ।
पक्राउ नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको ब्यूरोले जनाएको छ । पक्राउ परेका नौगारेट गैर पर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रवक्ता पाण्डेले बताए ।