२८ जेठ २०८३, बिहीबार

नेपालगञ्ज विमानस्थललाई ‘हब एयरपोर्ट’ बनाउँछौं : मन्त्री भट्टराई

मंसिर १६, २०७७
नेपालगञ्ज विमानस्थललाई ‘हब एयरपोर्ट’ बनाउँछौं : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हब एयरपोर्ट’को रूपमा विकास गरिने बताएका छन् ।

नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको मंगलवार उद्घाटन गर्दै उनले पछिल्ला दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताए ।

‘दुवै विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको हैसियतमा स्तरोन्नति गर्नुपर्छ भन्ने गुरुयोजना नेपाल सरकारले अघि बढाएको छ,’ उनले भने, ‘नेपालगञ्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ ।’

मन्त्री भट्टराईले विस्तारित पार्किङ क्षेत्रमा एटीआर ७२ साइजका कम्तीमा पनि ६ वटा जहाज एकसाथ पार्किङ गर्न सक्ने र एयरबस ३२० सम्मका जहाज पार्किङ हुनसक्ने अवस्थामा नेपालगञ्ज विमानस्थल पुगेको बताए ।

सो पार्किङ क्षेत्रको निर्माण कार्य २८ करोड ५३ लाख रुपैयाँको लागतमा निर्धारित समयमै सम्पन्न भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्ज नागरिक उड्डयन कार्यालय र निर्माण कम्पनीलाई धन्यवाद दिँदै उनले नेपालगञ्जमा सञ्चालन हुने थप निर्माण कार्य पनि समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।

‘नेपालगञ्ज विमानस्थललाई अहिले प्रस्तुत गरेको गुरुयोजनामा टर्मिनल भवन, रनवे मर्मत र अरु भौतिक तथा प्राविधिक सुविधा थप्दा जग्गा अधिग्रहणबाहेक सरकारले नेपालगञ्ज विमानस्थलमा करीब ४ अर्ब लगानी गर्दैछ । यो नेपालगञ्जप्रतिको सरकारको अपार विश्वास हो,’ मन्त्री भट्टराईले भने, ‘यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालगञ्जलाई दिएको महत्त्व र सद्भावको विषय पनि हो ।’ 

उनले प्रदेशको राजधानी नहुँदैमा नेपालगञ्ज शहरको महत्त्व नघट्ने बताउँदै राजधानी नबन्दैमा निराश नहुन नेपालगञ्जवासीलाई आग्रह गरे । ‘नेपालगञ्जले प्रदेशको राजधानीको रुपमा परिचय नपाए पनि प्रदेशको राजधानीभन्दा कम चर्चामा छैन । त्यस हिसाबले नेपालगञ्जको महत्त्व कम भएको छ जस्तो मलाई लाग्दैन,’ मन्त्री भट्टराईले भने, ‘किन कि यहाँबाट हुनसक्ने दुईदेशीय व्यापार, पर्यटन आवागमन, उद्योगधन्दा, शैक्षिक क्षेत्र लगायतका कारण यहाँको महत्त्व कम भएको छैन् ।’

सो अवसरमा प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य महेश्वरजङ्ग गहतराज, प्रदेश सभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष आइपी खरेल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर लगायतले नेपालगञ्ज विमानस्थलको महत्त्व र यसको उपयोगिताका विविध पक्षमाथि प्रकाश पारे ।

salt training

कमेन्ट गर्नुहोस्