२९ जेठ २०८३, शुक्रबार

कोरोना बढेपछि फेरि ११ दिनका लागि लकडाउन

मंसिर १७, २०७७
कोरोना बढेपछि फेरि ११ दिनका लागि लकडाउन

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ ।

मंगलवार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए ।

उनले भने, ‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय संक्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।’

मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र ७ वटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ । 

गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतवार, मंगलवार र बिहीवार मात्रै खुला रहने बताइएको छ । लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्स लगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ ।

पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।

यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ गतेसम्म लकडाउन गरेको छ । बैतडीमा हालसम्म ५६८ मा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४९९ जनाले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्