अमेरिकाको युटाहस्थित मरुभूमिमा रहस्यमय धातुको खम्बा देखिएर हराएको केही दिन नबित्दै क्यालिफोर्नियामा अर्को खम्बा देखापरेको छ ।
यसअघि रोमानियामा पनि धातुको खम्बा गायब भएको थियो ।
क्यालिफोर्नियाको पाइन पहाडमा यो खम्बा देखापरेको थियो ।
यसरी लगालग खम्बा देखिनु एलियनको काम हो कि कसैले मजाक गरेको हो भनी अनुसन्धान भइरहेको छ ।
यो खम्बा स्टीलबाट बनेको हो र यो १० फीट अग्लो तथा १८ इन्च चौडा छ । टाढैबाट यो खम्बा टल्किन्छ । यसको प्रत्येक कुनामा कीला गाडिएको छ ।
पहाडमाथि खम्बा कसले लगेको हो भन्ने खुलिसकेको छैन ।
सन् १९६८ मा प्रकाशन भएको आर्थर सी क्लार्कको विज्ञानकथामा आधारित उपन्यास मोनोलिथमा पनि यस्तै किसिमको खम्बाको चर्चा गरिएको छ । पछि किताबमाथि स्ट्यान्ली कुब्रिकको निर्देशनमा ‘२००१ ः ए स्पेस ओडिसी’ नामक फिल्म पनि बनेको थियो जुन हलिउडको सर्वकालीन महान फिल्ममध्ये एक हो ।