
अमेरिकाको कान्सास राज्यको विचिटा शहरमा पिज्जा हट आरम्भ गर्ने फ्य्रांक कार्नीको बुधवार निमोनियाका कारण निधन भएको छ । उनी ८२ वर्षका थिए ।
उनले आफ्ना दाइसँग मिलेर पिज्जा हट शुरू गरेका थिए र पछि गएर त्यो संसारभरि फैलिँदै गयो ।
विचिटा ईगल पत्रिकाका अनुसार, कार्नी हालै मात्र कोभिड–१९ बाट निको भएका थिए । उनले अमेरिकी समयअनुसार बुधवार बिहान प्राणत्याग गरेको उनका पत्नी र दाइले जानकारी दिए ।
विचिटा स्टेट युनिभर्सिटीमा पढाइ गरिरहेका बेलामा १९ वर्षीय कार्नीले आफ्ना २६ वर्षीय दाइ ड्यानसँग मिलेर पिज्जा कारोबार शुरू गरेका थिए ।
कारोबार शुरू गर्नका लागि उनले आमासँग ६०० डलर मागेका थिए ।
पछि उनको व्यापार बढ्दै गएपछि सन् १९७७ मा पेप्सीको कम्पनीले ३० करोड डलरमा पिज्जा हट किनेको थियो ।
पछि पछि कार्नीले अन्य कारोबारमा हात हालेका थिए ।