
एक किशोर दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट रहेका छन् ।
बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए ।
एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेका उनले बताए । बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए ।
गाडी लाइनमा जागिर लगाइदिने भन्दै विवेकले आफूलगायत अन्य सात/आठ जनालाई धनगढी लगिएको फोनमार्फत् भनेको बुबा देवदत्तले बताए ।
विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन ।
विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ । बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा निवेदन दिएका छन् ।
प्रहरीले किशोरको खोजी कार्य जारी रहेको बताएको छ । बेपत्ता किशोरको धनगढीलगायत स्थानमा खोजी कार्य भइरहेको गुरुखोला प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताए ।
गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्कर्क गरिदिन अनुरोध गरिएको छ ।
बेपत्ता किशोर दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए ।
–––