२३ असार २०८३, मंगलबार

यी ७० वर्षीय हजाम, नाटकमा ‘हिरोइन’ पात्रको अब्बल अभिनय

मंसिर २०, २०७७
यी ७० वर्षीय हजाम, नाटकमा ‘हिरोइन’ पात्रको अब्बल अभिनय

जनकपुरधाम उपमहानगरपालिका–५ का स्थायी वासिन्दा ७० वर्षीय रामअशिष ठाकुर हजाम (नाउ) हुन् । जानकी मन्दिरको दक्षिणतर्फ उनको घर छ ।

घरमा उनले शैलुन सञ्चालन गर्दै आएका छन् । करीब १४ वर्षको उमेरदेखि नै उनले आफ्नो परम्परागत हजामको पेशालाई निरन्तरता दिँदै आएका छन् ।

त्यसबाहेक उनले खेती गृहस्थीको काम समेत गर्दै आएका छन् । अहिले पनि उनी बिहानदेखि साँझसम्म आफ्नो शैलुनमा बस्ने गर्छन् । ग्राहकको कपाल र दाह्री बनाउने काम गर्दै आएका छन् उनी ।

उनी हजाम भए पनि जनकपुरमा उनको पहिचान अब्बल अभिनेताको रूपमा समेत छ । रंगमञ्च क्षेत्रमा जनकपुरधामको अग्रणी संस्था मिथिला नाट्यकला परिषद् (मिनाप) का उनी संस्थापक सदस्य हुन् । बाल्यकालदेखि नै नाटकमा महिला पात्रको अभिनय गर्दै आएका उनले पछि विभिन्न किसिमका चरित्र अभिनय गर्नुका साथै मेकअप म्यान, गेट अप म्यानदेखि स्टेजको सजावट र दृश्यको प्रबन्धन गर्ने लगायत विभिन्न काम गरेर मैथिली भाषाको रंगमञ्चको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । १० वर्षको उमेरदेखि नाटक खेलेका उनी अहिले ७० वर्षको उमेरमा पनि त्यति नै सक्रिय छन् ।

जानकी हाईस्कूलमा ५ कक्षामा पढ्ने बेलादेखि नै नाटकमा अभिनय गर्दै आएको उनी बताउँछन् । ‘त्यतिबेला स्कूलका शिक्षक बलराम राय सरले विभिन्न अवसरमा नाटकको आयोजन गर्नुहुन्थ्यो,’ ठाकुरले भने, ‘उहाँ आफैंले निर्देशन गर्नुहुने हिन्दी भाषाको नाटकमा उहाँ आफैं हिरोको रोल खेल्नुहुन्थ्यो भने मलाई हिरोइनको रोल खेल्न लगाउनुहुन्थ्यो ।’

नाटकमा भाग लिने तथा महिलाको रोल गर्ने काम उनले धेरैपछिसम्म गरेका थिए । जतिबेलासम्म जनकपुरमा महिला पात्र रंगमञ्चमा आएनन्, त्यतिबेलासम्म उनले महिला पात्रको अभिनय गरेका थिए । 

‘महिला पात्र खेल्न कोही मानिस तयार हुँदैन्थ्यो तर मैले जतिबेला पनि स्वीकार गरेको थिएँ,’ उनले भने, ‘पुरुष भएर पुरुषको अभिनय गर्नुभन्दा पनि महिलाको अभिनय गर्नु ठूलो चुनौतीपूर्ण काम हुने भएकाले पनि अन्य कलाकारहरू तयार हुँदैन्थे । अनि बलराम सरले जहिले पनि मलाई नै त्यो रोल गर्न लगाउनुहुन्थ्यो ।’

नाटक खेल्नका लागि नै त्यतिबेला उनीसहित योगेन्द्र साह नेपाली, बिलट साह, भोला दास कथबनिया, सुदर्शनलाल कर्ण लगायतले आधुनिक नाट्यकला मन्दिर नै खोलेका थिए । संस्थाको आयोजनमा धेरैजसो हिन्दी भाषाका नाटक खेल्ने काम गरिएको थियो ।  

धेरै हिन्दी नाटकमा अभिनय गरेपछि एक दिन राराब क्याम्पसका प्राध्यापक डा. धीरेश्वर झाले नाटक मण्डलीका कलाकारलाई मैथिली भाषामा नै नाटक खेल्नुपर्ने भनेर प्रोत्साहित गरे । ‘हिन्दी भाषाका नाटकको किताब बजारमा उपलब्ध हुन्थ्यो तर मैथिली भाषामा नाटकको किताब नै लेखिएको थिएन । त्यसैले पनि मैथिली भाषाको नाटक मञ्चन हुने गरेको थिएन,’ ठाकुरले भने, ‘त्यसपछि धीरेश्वर सरले नै धेरैजसो मैथिली भाषामा एकांकी लेख्नुभयो र हामीले मञ्चन गर्ने कामको शुरूआत गरेका थियौं ।’

मैथिली भाषामा पहिलो नाटक खेल्ने कामको शुरूआत नै उनीहरूले गरेका थिए । ‘मैथिली भाषामा लेखिएका डायलग स्मरण गर्न तथा उच्चारण गर्न पनि कठिन हुने हुनाले कतिपय कलाकारले रुचि देखाइरहेका थिएनन्,’ उनले भने, ‘तर धीरेश्वर सर र महेन्द्र मलंगिया सरले कलाकारलाई निरन्तर प्रोत्साहित गर्ने काम गरेपछि हामीले मैथिली भाषामा नै नाटक खेल्न थालेका थियौं ।’

पछि सुदर्शन लाल कर्णको अध्यक्षतमा मिनाप संस्था खोलेर मैथिली भाषाको नाटकलाई जनकपुर मात्र होइन, गाउँगाउँ गएर नाटक मञ्चन गरेको उनी बताउँछन् । ‘महेन्द्र मलंगिया सरले नाटकको स्क्रिप्ट लेख्ने तथा नाटकको निर्देशन पनि गर्ने काम गर्नुहुन्थ्यो भने हामीले नाटक खेल्ने काम गर्थ्यौं,’ उनले भने, ‘उहाँले लेख्नुभएका सबै नाटकको महिला पात्रको अभिनय आफूले नै गर्थें ।’

दिनमा शैलुन खोलेर हजामको काम गर्ने तथा रातिराति अभिनयको अभ्यास गर्ने, बिहान–साँझ फुर्सदको समयमा ‘डायलग’ याद गर्ने काम गर्थे उनी । नाटक खेल्नका लागि स्टेज बनाउन आवश्यक पर्ने चौकी, ड्रम, बाँस आदि संकलन गरेर ल्याउनेदेखि नाटक सम्पन्न भएपछि फेरि फिर्ता गर्ने काम समेत आफूले नै लामो समयसम्म गरेको उनले बताए ।

महेन्द्र मलंगियाले लेखेका नाटकहरू ‘झमेलीके बियाह’, ‘ओकरा आंगनक बारह मासा’, ‘गाम नै सुतइए’, ‘केओ कि कहत’, ‘बिल्टू बिर्जू बाबू’, ‘काठक लोक’, ‘पुस जाढ कि माघ जाढ’, ‘छुतहर घैल’, ‘ओ खाली मुँह देखै छै’ लगायत दर्जनौं नाटकमा उनले महिला पात्रको अभिनय गरेका थिए । अब महिलालाई पनि नाटकमा ल्याउनुपर्छ भनेर धेरै कोसिस गरेपछि बल्ल १ जना पात्र भेटिएको उनी बताउँछन् ।

‘कन्या पाठशालाकी शिक्षिका विद्या राणालाई हामीले रंगमञ्चमा ल्याउन सफल भएका थियौं,’ उनले भने, ‘शुरूमा उनी नृत्य सिक्न आएकी थिइन् पछि उनलाई अभिनयमा पनि ल्याएका थियौं ।’ 

कुनै पनि महिला रंगमञ्चमा आउन तयार नै नहुने भएकाले धेरै समय महिला पात्रको अभाव भएको उनले बताए । पछि अलिअलि माहौल बन्दै गएपछि नेपाली भाषी महिलाहरू रंगमञ्चमा आउन थालेका थिए । विद्या राणा, उर्मिला श्रेष्ठ, पुनिता ढकाल जस्ता नेपाली भाषी कलाकारले नै मैथिली भाषाको नाटकमा अभिनय गरेका थिए । त्यसपछि पहिलो पटक मैथिली भाषी महिला कलाकार रेखा कर्ण मैथिलीले रंगमञ्चमा अभिनय गरेकी थिइन् ।

‘सबै महिला कलाकारका आमाबुवालाई नाटकका लागि विश्वास दिलाउनेदेखि अभिनय सिकाउने समेत काम मैले गर्ने गरेको थिएँ,’ ठाकुरले भने, ‘जब महिला पात्रहरू भेटिन थाल्यो अनि मात्र मैले अन्य चरित्र रोलमा अभिनय गर्ने मौका पाएको थिएँ ।’

अभिनय गर्न महिला पात्र त के पुरुष पात्र पनि पाउन गाह्रो हुने उनको अनुभव छ । ‘कुन–कुन गाउँमा कहिले नाटक छ भनेर पत्ता लगाएर नाटक हेर्न जान्थ्यौं र ती नाटकमा राम्रो अभिनय गर्ने कलाकारलाई फसाएर मिनापमा ल्याउने गर्थ्यौं,’ उनले भने, ‘यसरी परबाहा गाउँबाट रमेश रंजन, विष्णुकान्त मिश्र, कुम्हरौरा गाउँबाट अनिलचन्द्र झा, प्रकाश झा, जनकपुरमै एउटा नाटकमा गीत गाउने भाई पर्ने मदन ठाकुर, सुनील मिश्र, सुनील मल्लिक लगायतलाई मिनापमा आबद्ध गराएर नाटकमा लगाएका थियौं ।’

नाटककार मलंगियाले अभिनय सँगसँगै साजसज्जा, मेकअप, गेटअपदेखि सिन तयार गर्ने काममा समेत कति बोझ लिने भनेपछि अभिनय कम गरेको उनी बताउँछन् । ‘अहिले पनि मिनापले गर्ने गरेका नाटकमा मेकअपदेखि गेटअपको काम मैले नै गरिरहेको छु,’ उनले भने, ‘आवश्यक परेको बेला, पात्र कम भएको बेला अभिनय पनि गर्ने गरेको छु ।’ बाँकी समय भने शैलुनमा नै बिताउने गरेको उनी बताउँछन् । 

‘पढ्न त ५ कक्षासम्म मात्र पढ्न पाएँ तर नाटककै कारण मलाई जनकपुरमा मानिसहरूले सम्मान दिएकोमा कामबाट अत्यन्त खुशी छु,’ उनले भने, ‘त्यतिबेला हामीहरूले मैथिली भाषा, कला संस्कृतिको उत्थानका निम्ति अभियानसरह नै नाटक खेलेका थियौं ।’ तर अहिले आएर मानिसहरूले त्यसलाई पूर्ण रूपमा पैसा कमाउने माध्यम बनाउन चाहेकाले रंगमञ्चको उपस्थिति कम हुँदै आएको उनले बताए ।

‘पैसा पायो भने नाटक गर्ने, पाएन भने नाटक नगर्ने प्रवृत्तिको विकास हुँदै गएको छ । एक किसिमले ठीक पनि जस्तो लाग्छ तर अर्कोतर्फ हेर्दा कलाको विकासमा त्यसले अवरोध पनि सिर्जना गरेको छ कि जस्तो पनि लाग्ने गरेको छ,’ उनले भने ।

भारतको पटना र मधुवनी जस्ता शहरदेखि नेपालको राजधानी काठमाडौंमा समेत पटक–पटक नाटकमा अभिनय गरेका उनले २०० भन्दा बढी पटक मैथिली भाषाको नाटक मञ्चन गरेका छन् । अब स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म भएको अवस्थामा रंगमञ्चलाई अगाडि बढाउन सरकारले ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्