
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको ‘ह्याक’ भएको आधिकारिक फेसबूक पेज २ दिन बितिसक्दा पनि ‘रिकभर’ हुन सकेको छैन ।
फेसबूक पेज ह्याक गरिनुको उद्देश्य र कारण थाहा हुन नसकेको सचिवालयले जनाएको छ ।
सीएम लालबाबु राउत र मुख्यमन्त्री सञ्चार सचिवालय गरी २ वटा फेसबूक पेज गत शुक्रवार बिहान साढे ९ बजेतिर ह्याक भएका थिए । दुवै पेज मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले चलाउने गरेका थिए ।
‘शुक्रवार बिहान साढे ९ बजेतिर दुवै पेज ह्याक भएको २ मिनेटमा नै मलाई पत्ता लागेको थियो,’ मिश्रले भने, ‘लगत्तै हामीले काठमाडौंस्थित साइबर ब्यूरोमा जानकारी गराएका थियौं ।’ पेजको प्रोफाइल तस्वीरमा १ जना विदेशी महिलाको फोटो राखिएको छ । पेज ह्याकरको लोकेसन धरान, इटहरी, झापा देखाउने गरिएको मिश्रले बताए ।
‘ह्याकरले त्यो गलत लोकेसन पनि देखाएको हुन सक्छ भन्दै साइबर ब्यूरोले रिकभर गर्नका लागि कम्तिमा ७ दिनसम्म समय लाग्ने भनेका छन्,’ मिश्रले भने, ‘पेज फेरि रिकभर हुन पनि सक्छ वा नहुन पनि सक्छ ।’
दुवै पेजबाट कुनै पनि व्यक्तिसँग गोप्य कुराकानी भएको थिएन, पेज ह्याक भए पनि गोपनीयता भंग नहुने उनले बताए । दुवै पेजमा सार्वजनिक हुने कुराहरू नै पोस्ट गरिएको र गोप्य कुरा केही पनि नभएको उनले खुलाए । शुभकामना सन्देश, विभिन्न प्रेस विज्ञप्ति तथा बैठक, समारोहमा सहभागी हुँदा व्यक्त गरिएका सम्बोधन लगायतका कुराहरू पेजबाट पोस्ट हुने गरेका थिए ।
‘सीएम लालबाबु राउत नामक आईडीको फेसबूक पेजमा ३० हजारभन्दा बढी मानिसहरू फलो गरेका थिए,’ मिश्रले भने, ‘ह्याकरले पेजको फलोवर संख्याको आधारमा विज्ञापनबापत पैसा कमाउने व्यावसायिक उद्देश्यका लागि पनि ह्याक गरेको हुनसक्छ ।’
ह्याक गरिएका दुवै पेज रिकभर नहुने देखिएमा दुवै पेज पूर्ण रूपमा बन्द गर्नका लागि फेसबुक कम्पनीलाई आग्रह गरिने उनले बताए । मुख्यमन्त्रीको आधिकारिक फेसबूक पेज ह्याक हुनु भनेको अत्यन्त गम्भीर कुरा रहेको २ नम्बर प्रदेश प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंह बताउँछन् । ‘उहाँको गोपनीयता भंग हुनेदेखि उहाँको चरित्र हत्या गर्न आपत्तिजनक पोस्टहरू राख्न सक्ने, महत्त्वपूर्ण कागजातहरू छन् भने त्यसको दुरुपयोग हुनसक्ने खतरा समेत रहेको छ,’ डीआईजी सिंहले भने, ‘काठमाडौंस्थित साइबर ब्यूरोले छानबिन गर्दैछ, दोषी पत्ता लागे ३ वर्षसम्म कैद सजाय हुन सक्छ ।’
फेसबूक ह्याक गर्ने प्रयोगकर्ताबारे जानकारी प्राप्त गर्न काठमाडौंस्थित नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबूक कम्पनीलाई पत्र पठाइसकेको ब्यूरोका प्रहरी निरीक्षक वकिल सिंहले बताए । ‘अमेरिकास्थित फेसबूक कम्पनीलाई पत्र पठाइसकेका छौं, उताबाट जवाफ आएपछि मात्र ह्याकरबारे विस्तृत जानकारी प्राप्त हुनसक्छ,’ सिंहले भने, ‘फेसबुकका सबै डाटा उता कम्पनीसँग मात्र हुने हुनाले पत्ता लगाउन समय लागेको हो ।’