
कोरोना महामारीले धेरैको जीवनको लय फेरिदिएको छ । धेरैले गर्दै आएका विभिन्न काममा कोरोनाले निकै बाधा थपिदियो ।
कोरोना कहरसँगै सरकारले अधिकांश क्षेत्र बिस्तारै खुला गरे पनि मनोरञ्जन क्षेत्र अझै सहज तरिकाले खुल्न सकेको छैन । चलचित्र उद्योगका विभिन्न काम भए पनि फिल्म हल खुलेका छैनन् ।
चलचित्रहरू निर्माणको काम शुरू त भएको छ तर चलचित्र निर्माणपछि ‘एक्जिट प्वाइन्ट’ नखुलेपछि यसको अर्थ के ? स्क्रिप्ट लेखनदेखि लोकेसन हन्टिङसम्मका कामहरू भएका छन् । तर चलचित्र भवन नखुलेकाले धेरै चलचित्रकर्मी अन्यौलमा छन् । चलचित्र हल खुले पनि दर्शक आउने सम्भावना नदेखेकाले धेरै चलचित्रकर्मीबीच अन्योलको स्थिति छ ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले तरकारी खेतीको तयारीमा जुटेका छन् । ‘जोखिम मोलेर चलचित्रमा लगानी गर्न डर लाग्यो । सोही कारण फार्म–हाउस निर्माणको तयारीमा जुटेको हुँ,’ दिपकले लोकान्तरसँग भने, ‘मैले लेखिरहेको चलचित्रको स्क्रिप्टको काम पनि अहिले स्टप गरेको छु ।’
गिरीले गरिखाने मेसोका लागि नै विकल्प खोजेको प्रतिक्रिया दिएका छन् । उनले गाउँघरमा बाउबाजेले गर्दै आएको खेती–किसानी गर्न आधुनिक प्रविधिबाट फार्म–हाउस खोल्ने योजना बनाएको बताए ।
गिरीले दहचोकमा रहेको आफ्नो पुर्ख्यौली जग्गामा फार्म–हाउस खोल्दैछन् । फार्म–हाउसमा उनले ५ करोड रुपैयाँ लगानी गर्दैछन् । गिरीले चलचित्र कर्मबाट आर्जन गरेको पैसा व्यवसायमा लगानी गर्न लागेको बताए ।
कोरोना कहरका कारण विश्वको अर्थतन्त्र नै थिलथिलो बनेको बेला चलचित्र मात्रै भनेर धेरै बसेका छैनन् । निर्माता थमनकुमार भण्डारीले बागमती किनारामा ‘मकैघर’ शुरू गरेका छन् । पण्डित बाजेको लौरीका निर्माता समेत रहेका भण्डारीले एकल लगानीमा मकैघर शुरू गरेका हुन् । मकैघरमा गाउँघरमा खाइने स्थानीय स्वादको खाना र दाङ तथा विभिन्न ठाउँको लोकल कुखुराको मासु पाइन्छ ।
‘केही न केही गर्नुपर्छ भन्ने लाग्यो । कोरोनाका कारण चलचित्र क्षेत्र के हुने हो अझै भर पर्ने स्थिति छैन । सोही कारण लकडाउनपछि तुरुन्तै यो व्यवसाय औपचारिक रूपमै सञ्चालन गरेको हुँ । फिल्मको काम गरेर मात्रै अब काठमाडौंमा टिक्न सकिन्छ भन्ने लागेको छैन,’ उनले भने, ‘लकडाउन अघिदेखि मकैघर बनाउन शुरू गरेको थिएँ । अहिले सम्पूर्ण काम सकिएर सेवा दिन थालिएको छ ।’
चलचित्र क्षेत्र चलायमान भएर पुरानै स्थितिमा आएको खण्डमा चलचित्र निर्माणमा हात हाल्ने उनको भनाई छ । निर्माता थमनले ३० लाख रुपैयाँ लगानीमा मकैघर शुरू गरेका हुन् ।
अभिनेता प्रेम पुरी चलचित्र क्षेत्रसँगै व्यवसायमा आवद्ध भएका छन् । उनले हालै न्युरोडमा ‘कम्प्युटर शप’ शुरू गरेका छन् । ‘कम्प्युटर सबैका लागि अत्यावश्यक चिज पनि हो, यसबाट त कम्तिमा पेट पाल्न सकिन्छ कि ?’ उनले भने, ‘अब चलचित्र हल नखुल्दासम्म हामीलाई कसले हेर्ने ? चलचित्रमा काम पाएसम्म गर्ने नत्र केही समय व्यवसायलाई उठाउने योजना बनाएको छु ।’
उनले कम्प्युटर व्यवसायसँगै आफ्नी पत्नीले शुरूआत गरेको बुटिकमा पनि सक्दो सहयोग गर्ने बताए । ‘लकडाउनले जीवन बर्बाद पारेको छ,’ उनले भने, ‘आफूले गर्दै आएको कामलाई समयले बाधा थप्यो भने त विकल्प खोज्नु अनिवार्य कुरा हो । काठमाडौंमा कसरी टिक्ने, कसरी पेट पाल्ने ?’
निर्माता तथा वितरक गोविन्द शाहीले काठमाडौंमा छिट्टै विशेष किसिमको रेस्टुराँ शुरू गर्ने योजना बनाएका छन् । उनको योजना अनुसार नक्साल क्षेत्रमा रेस्टुराँ सञ्चालन हुनेछ । ‘अब चलचित्र क्षेत्रबाट मात्रै पेट पाल्न सकिन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘चलचित्र उद्योग चलायमान नहुँदासम्म चलचित्र व्यवसायबाट खासै आशा छैन । सोही कारण विकल्प खोजेको हुँ ।’ शाहीले केही चलचित्रकर्मीलाई समेत टीममा भित्र्याएर अत्याधुनिक सुविधासम्पन्न रेस्टुराँ खोल्ने जानकारी दिए ।
क्युएफएक्सका निर्देशक नकिम उद्धिनले हालै मःम व्यापार शुरू गरेका छन् । उनले पुल्चोकस्थित लबिम मलमा र बागबजार नजिकै मःम व्यवसाय शुरू गरेका हुन् । ‘अहिले हल खुल्ने कुनै संकेत छैन, सरकार पनि हल खोल्छ जस्तो लाग्दैन,’ उनी भन्छन्, ‘चलचित्र उद्योग चलायमान हुनका लागि कम्तिमा २०२१ को मध्यसम्म कुर्नुपर्छ जस्तो लागेको छ । अहिले हल खुले पनि दर्शक आउँछन् भन्ने कुरामा ढुक्क छैन ।’
नकिमले लकडाउनका कारण व्यवसाय चौपट भएको तथा व्यवसाय पनि पुरानै स्थितिमा फर्किन धेरै वर्ष लाग्ने भएकाले विकल्प खोजेको बताए । उनका अनुसार चलचित्र क्षेत्रसँग सम्बन्धित हजारौं व्यक्ति दोधारको स्थितिमा रहेका छन् ।
निर्देशक रामबाबु गुरुङले पनि चलचित्र उद्योगसँगै अन्य केही विकल्प अँगाल्ने योजना रहेको सुनाए । ‘म चलचित्र बनाउँदा पनि विशेष तयारी गरेर मात्रै बनाउँछु, हावातालमा कुनै प्रोजेक्ट लिन्न,’ उनले भने, ‘अहिले तुरुन्तै धेरै प्रोजेक्ट लिने पक्षमा छैन । त्यसैले विकल्पमा केही गरौं कि भन्ने योजना छ ।’
रामबाबु पनि रेस्टुराँ अथवा कफी व्यवसायमध्ये एउटा अँगाल्ने योजनामा छन् । हाल उनी ठाउँ खोज्ने काममा व्यस्त छन् ।
अभिनेता पुष्प खड्का छिट्टै कफी शप खोल्ने योजनामा छन् । उनका अनुसार काठमाडौंको बानेश्वर क्षेत्रमा कफी शप सञ्चालनमा आउने छन् । ‘ठाउँ हेर्ने र पूर्ण तयारी गरिसकेको छु,’ उनले भने, ‘चलचित्रका केही पेन्डिङ काम छन्, त्यो सक्नासाथ म कफी शप खोल्ने योजना बनाएको छु ।’ लकडाउनका कारण र कोरोना महामारीले आफू अन्य व्यवसायमा पनि आबद्ध गराउनुपर्छ भन्ने सोच आएको अभिनेता खड्काले सुनाएका छन् ।