चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले कोरोनाका विषयमा अमेरिकाको कडा आलोचना गरेको छ ।
कोरोना महामारीका कारण आएको विपतमा अमेरिका फसेको अनि सरकारले जनतालाई कोरोनाको नियम पालन गराउन नसकेको भनी पत्रिकाले लेखेको छ ।
कोरोनाका कारण संसारकै सबभन्दा धेरै मानिसको मृत्यु अमेरिकामै भएको छ । त्यहाँ २ लाख ८८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यति धेरै मानिसको मृत्यु हुन दिएकोमा ग्लोबल टाइम्सले अमेरिकाबाट भयंकर अपराध भइरहेको र त्यो माफीको योग्य नरहेको भनी लेखेको छ ।
अमेरिकामा दिनदिनै दुई हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । यति धेरै मानिसको मृत्युलाई नरसंहार भन्नुपर्ने र २१औं शताब्दीको मानवताका लागि यो लज्जास्पद विषय भएको पत्रिकाले लेखेको छ ।
संसारको सबभन्दा विकसित देश भनिने अमेरिका अहिले पृथ्वीकै भयावह स्थान बनेको र धर्तीको नर्क भएको भनी लेखेको छ ।
अमेरिकाले अरूलाई मानवअधिकारको पाठ पढाउने गरेको तर आफूले कोरोना व्यवस्थापन नगरी मानवताविरुद्धको अपराध गरिरहेको भनी अन्तर्राष्ट्रिय समुदायले निर्भीक भएर उसलाई बताउनुपर्ने भनी ग्लोबल टाइम्सले लेखेको छ ।