३१ जेठ २०८३, आइतबार

विप्लव समूहका नेता अनिल शर्मा पुनः पक्राउ

मंसिर २४, २०७७
विप्लव समूहका नेता अनिल शर्मा पुनः पक्राउ
प्रतिकात्मक तस्वीर

स्काभेटरमा आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलवार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ गते त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ गते मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।

साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई मंगलवार राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शर्मालाई काभ्रेमा संगठित अपराध, एनसेल टावर आगजनी लगायतको अभियोग छ ।

गत वैशाख २३ गते चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ गते त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, संखुवासभा, मोरङ, काठमाडौं, ललितपुर हँुदै नवौं जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो । आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको प्रतिक्रिया छ ।

नेत्रविक्रम चन्दको समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंशात्मक गतिविधिमा संलग्न हुन थालेसँगै राज्य संयन्त्रबाट विभिन्न बहानामा धरकपड, पक्राउसहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्