२३ असार २०८३, मंगलबार

गाउँपालिकाको टोली घरदैलोमै पुगेर स्वास्थ्य सेवा

मंसिर २४, २०७७
गाउँपालिकाको टोली घरदैलोमै पुगेर स्वास्थ्य सेवा
प्रतिकात्मक तस्वीर

हुम्लाको खार्पुनाथ गाउँपालिकाले चालू आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरू गरेको छ ।

घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमित सञ्चालन गरिँदै आएको छ । कार्यक्रम विशेषगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिँदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए ।

नागरिकले घरआँगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले बताए । स्थानीय नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो ।

गाउँपालिकाका ७० वर्षीय दोर्मा हमालले भने, ‘यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो तर आजभोलि घरमै आएर उपचार दिन थालेपछि सरकार घरआगनमै आएको महसूस भएको छ ।’ 

उनले फेरि थपे, ‘उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएको छु ।’ 

‘यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु,’ अर्का स्थानीय ८६ वर्षका नन्दबहादुर हमालले भने, ‘हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक बिरामीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ ।’

गाउँपालिकाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रममा अहिलेसम्म १४१ नागरिकले सेवा पाएको छिप्रा स्वास्थ्यौकिका अहेब प्रेम रावलले जानकारी दिए । गाउँपालिका–१ देखि ५ सम्म स्थानीय स्वास्थ्य चौकी, सामुदायिक एकाई र सामुदायिक अस्पताल गरेर १० स्वास्थ्य संस्था रहेका छन् भने १ डाक्टरसहित ३६ स्वास्थ्यकर्मी रहेका अहेब रावलले जानकारी दिए ।

अस्थायी कोभिड अस्पतालका लागि १ डाक्टर, १ ल्याब टेक्निसियन र २ स्टाफ नर्स रहेका उनले जानकारी दिए । आम नागरिकको घरदैलोमा पुगेर बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै अन्य स्वास्थ्य सम्बन्धी परामर्श समेत दिइने गरेको छ ।

स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा गत वर्षको अनुदानबाट गाउँपालिकाको स्वास्थ्य शाखाले सबै नागरिकलाई घरमै स्वास्थ्यकर्मी पुर्‍याएर सेवा प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्