
झरना थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘ए मेरो हजुर–४’को ९० प्रतिशत छायांकन सकिएको छ ।
यो चलचित्रको पछिल्लो समय काठमाडौं पाटन क्षेत्रमा दिनरात छायांकन भइरहेको छ ।
लभ स्टोरी जनरामा निर्माण भएको यो चलचित्रको अब एक महिनाभित्रै सम्पूर्ण छायांकन सम्पन्न गर्ने निर्माण टिमको योजना छ ।
सुनीलकुमार थापाको निर्माणमा बनिरहेको चलचित्रमा अनमोल केसी र सुहाना थापालगायतका कलाकारको मुख्य अभिनय देख्न सकिनेछ ।
चलचित्र दृश्यको छायांकन सकिएपछि गीतको छायांकन थाल्ने चलचित्रका सहायक निर्देशक आर्यन अधिकारीले जानकारी दिए ।
उनले भने, ‘झरना दिदीले अब छिट्टै छायांकन सिध्याएर गीतको सुटिङ गर्नुपर्छ भन्नुभएको छ । अब चलचित्र खिचेपछि गीत खिच्नेछौं । तर, फिल्म निकै राम्रो बनिरहेको छ ।’
झरना थापाको निर्देशनमा बनेका यसअघिका सम्पूर्ण चलचित्र हिट बनेका छन् । ‘ए मेरो हजुर–३’ले १० करोडभन्दा माथिको ब्यापार गर्दै २०७६ को हिट सिनेमा बनेको थियो ।
यो चलचित्र नयाँवर्षको अवसरमा अथवा आगामी दशैंमा प्रदर्शन गर्ने योजना छ ।
यो चलचित्र लकडाउनअघि छायांकन थालिएको थियो । तर, लकडाउनका कारण सम्पूर्ण छायांकन स्थगित गरिएको थियो ।
पुनः दशैंको घटनास्थापनाका दिन छायांकन प्रारम्भ गरिएको थियो । चलचित्रका लागि निर्माण पक्षले २ करोड बजेट छुट्टाएको छ ।