०१ साउन २०८३, शुक्रबार

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

मंसिर २५, २०७७
हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।

लिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चतुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन ।

सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ । अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्‍याएको थियो ।

‘चतुर्मुखी शिवलिंगको मूर्ति फेला परेको विषयमा संकलनकर्ताको इच्छापत्रअनुसार मूर्ति नेपाललाई फर्काउने भनिएपछि मात्र जानकारी बाहिर आएको हो,’ वासिङ्टनस्थित नेपाली राजदूत अर्जुन कार्कीले कान्तिपुरसँग फोनमा भने, ‘पुरातत्त्व विभाग र परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं ।’ उनले यो मूर्तिको नेपालको अवस्थिति (ठाउँ) बारे जानकारी पाउन नसकेको बताए । तर लिच्छविकालीन मूर्ति र सम्पदाका जानकारले यो मूर्ति पशुपति परिसरबाट हराएको पुष्टि गरेका छन् । अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति पशुपति पञ्चदेवलको बाहिरपट्टि रहेको र सन् १९८४ जुलाईमा हराएको विवरण (पृष्ठ ११७) उल्लेख छ । पशुपति क्षेत्रकै सांस्कृतिक सम्पदामा विद्यावारिधि गरेका अन्वेषक गोविन्द टण्डनका अनुसार २०४४ सालमा पशुपति क्षेत्र विकास कोष गठन हुनुअघि यस क्षेत्रका धेरै पुरातात्त्विक मूर्तिहरू हराएका थिए । ‘यो चतुर्मुखी शिवलिंग पनि एक प्रकारले संरक्षणहीन र फ्याँकिएकै अवस्थामा पशुपति पञ्चदेवलको बाहिर दक्षिण–पूर्वी कुनामा थियो,’ टण्डनले भने, ‘अहिले मलामीका लागि टहरो हालिएको आश्रयस्थल छेउमा जलहरी (आसन) सहितको चतुर्मुखी शिवलिंग थियो ।’

टण्डनको २०४२ सालमा प्रकाशित ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ पुस्तकमा लेखिएको छ, ‘पशुपति क्षेत्रमा भएका चतुर्मुखी लिंगहरूमा प्राचीनताको दृष्टिकोणले भूतेश्वर तथा पञ्चदेवल बाहिर दक्षिण–पूर्व दिशामा रहेका शिवलिंग उल्लेखनीय थिए । तर अपशोच, ती दुवै मूर्तिहरू हराए । चारै मुहार सौम्य मुद्रा, सौन्दर्यपूर्ण अनुहार, सुहाउँदो गरगहना र केशविन्यासको कमण्डलु, चारैवटा मुहारको निधारमा त्रिनेत्र हुनु यसको अर्को विशेषता थियो । ठाडो नेत्रको सट्टा यसमा तेर्सो नेत्रहरू निधारमा उत्कर्षण थिए । यी मुखलिंगहरू हाम्रोसामु अहिले छैनन् ।’

मूर्ति र पुरातात्त्विक सम्पदाबारे अभिलेख राख्ने पुरातत्त्व विभाग पशुपति परिसरको यो सम्पदा अमेरिकामा भेटिएकोबारे अनभिज्ञ छ । परराष्ट्र मन्त्रालयका अधिकारीले पनि अमेरिकामा भेटिएको भनिएको यो सम्पदाको अवस्थिति र आधिकारिकताबारे तत्काल केही भन्न नसकिने बताए । सिकागो म्युजियममा भने सिंगो चतुर्मुखी शिवलिंगको सग्लो मूर्तिलाई आधाजति काटेर राखिएको अवस्थामा देख्न सकिन्छ । चतुर्मुखी शिवलिंगको पहिलेको उचाइ २८ इन्चको थियो भने चोरी गरेर लैजाँदा गिँडेर १६ इन्चको बनाइएको छ ।

अमेरिकाको सिकागो म्युजियममा चतुर्मुखी शिवलिंग भेटिएको जानकारी पाएपछि सम्पदाविद् रवीन्द्र पुरीले वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ भित्र रहेको यो सम्पदाबारे खोजबिन सुरु गरेका थिए । ‘लिच्छविकालीन सभ्यता–संस्कृति भएकै स्थानमा यो सम्पदा हुनुपर्छ भनेर पशुपति परिसरमै यसको खोजबिन सुरु गरेको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘नभन्दै पशुपति क्षेत्रका अर्का विज्ञ टण्डनको परामर्श र अध्ययनले यो सम्पदा पञ्चदेवल नजिकैको रहेको पुष्टि भएको छ ।’ वाङ्देलको कृतिकै आधारमा नेपालबाट चोरिएका ५० वटा प्रतिनिधिमूलक मूर्तिहरूको ‘रिप्लिका’ बनाएर ‘म्युजियम अफ स्टोलन आर्ट’ स्थापना गर्ने अभियानमा लागिपरेका पुरीले चतुर्मुखी शिवलिंगसमेत यसअघि नै आफ्नो सूचीमा रहेको जानकारी दिए । लिच्छविकालीन समय, संस्कृति र सभ्यता झल्काउने यस्ता सम्पदाको ‘रिप्लिका’ अनिवार्य रहेको भन्दै मूर्ति निर्माणमा लागिरहेका बेला यो पुरातात्त्विक मूर्ति अमेरिकामा फेला परेको सुन्दा खुसी लागेको उनले बताए । पनौतीमा निर्माणाधीन आफ्नो संग्रहालयमा राख्न ४० वटा मूर्तिहरूको ‘रिप्लिका’ बनाइसकेको उनले जानकारी दिए ।

अन्वेषक टण्डनका अनुसार नेपालमा पुरातत्त्व विभाग, गुठी संस्थान, अभिलेखालयसहितका कुनै पनि निकायमा हामीकहाँ रहेका पुरातात्त्विक सामग्री/सम्पदाको आधिकारिक सूची उपलब्ध छैन । ‘कुनै एउटा बिहानीमा चोरिन्छन् अथवा हराउँछन्,’ उनले भने, ‘त्यस्तो सूची भइदिएको भए सिकागो म्युजियममा चतुर्मुखी शिवलिंग भेटिनासाथै यसको अवस्थिति वा उत्पत्तिबारे वासिङ्टनको दूतावासलाई पनि थाहा हुन सक्थ्यो । अथवा हाम्रै पुरातत्त्व र परराष्ट्रलाई पनि थाहा हुन्थ्यो होला ।’

सबै समय र कालखण्डको यस्तो अभिलेख नभए पनि पुरातात्त्विक महत्त्वका सामग्री–सम्पदाको सूची हुनैपर्नेमा टण्डन जोड दिन्छन् । ‘समस्या के छ भने हाम्रा लिच्छविकालीन मूर्तिहरू कहाँ छन्, कति छन् भन्ने सूची कहीं कतै छैन । पशुपतिनाथ परिसरमै रहेका लिच्छविकालीन मूर्तिको सूचीपत्र पनि कतै छैन । गुठी संस्थान, राष्ट्रिय अभिलेखालय, चारखाल अड्डा कहीं कतै अद्यावधिक रेकर्ड छैन,’ उनले भने, ‘आफ्नो अध्ययन–अन्वेषणअनुसार मैले चतुर्मुखी शिवलिंगको इतिहासको अवस्थिति भन्न सकें, पशुपति क्षेत्रैबाट हराएका दर्जनौं सम्पदाबारे खोइ कहाँ छ रेकर्ड ?’

को हुन् जेम्स एन्ड मार्लिन ?
अति महत्त्वका विश्वव्यापी कला सम्पदाको खरिदबिक्री एवं लगानीमा अन्तर्राष्ट्रिय नाम बनाएका सिकागोका जेम्स डब्लू एल्सडर्फको ७६ वर्षको उमेरमा सन् १९९० अप्रिलमा निधन भएको थियो । निधनपछि उनकै श्रीमती मार्लिन ब्रुडर एल्सडर्फले यस्ता सम्पदा खरिद–बिक्री एवं प्रवर्द्धन गर्दै आएकी थिइन् । गत वर्ष २०१९ अगस्ट १ मा मार्लिनको ९४ वर्षको उमेरमा निधन भयो । उनको मृत्युपछि भेटिएको इच्छापत्रमा ‘मेरो मृत्युपछि चतुर्मुखी शिवलिंगको मूर्ति नेपाललाई बुझाइदिनू’ भन्ने लेखिएको थियो । ‘सिकागो कला समाजकी रानी’ भनेर चिनिने मार्लिनको इच्छापत्रअनुसार म्युजियमले वासिङ्टनस्थित नेपाली दूतावासलाई यो सम्पदाबारे जानकारी गराएको थियो । यो पुरातात्त्विक मूर्तिको ‘उत्पत्तिको स्थान’ (ओरिजिन) थाहा भइसकेकाले मूर्ति फर्काउन सजिलो हुने देखिएको छ । कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्