
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेताहरू सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्ने तयारीमा छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले पहिल्यै खारेज गरिसकेको अध्यादेश ल्याउनु आपत्तिजनक रहेको र यसबारेमा सामूहिक धारणा बनाउन छलफल गर्ने तयारी गरिरहेको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवास खुमलटारमा असन्तुष्ठ पक्षका नेताहरू भेला हुने भएका हुन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अध्यादेशलाई लिएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग रुष्ट छन् ।
प्रचण्डले अध्यादेश जारी भएकोमा कडा आपत्ति जनाएका छन् भने खनालले पार्टीमा कुनै सल्लाह नगरी अध्यादेश ल्याइनु गलत रहेको टिप्पणी गरेका छन् ।