
प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न राजी भएपछि संसदको विशेष अधिवेशनका लागि समावेदन गर्ने तयारीबाट नेकपाको अर्को समूह पछि हटेको छ ।
बुधवार एकचौथाइ सांसदको हस्तक्षरसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन लिएर राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
नेकपा स्थायी कमिटी सदस्य एवं सांसद भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल पक्षले संसदको अधिवेशन बोलाउने गृहकार्य थालेको थियो । अध्यादेश फिर्ता गर्न ओली सहमत भएपछि निवेदन दर्ता नगरी उनीहरू फिर्ता भएका छन् ।
संविधानको धारा ९३ को उपधारा ३ मा प्रतिनिधि सभाका सम्पूर्ण सदस्यको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार संसदको विशेष अधिवेशन बोलाउन प्रचण्ड–नेपाल समूहले सांसदको हस्ताक्षर संकलन गरेको थियो । अध्यादेश फिर्ता हुने भएपछि विशेष अधिवेशन बोलाउने तयारी रोकिएको छ ।
यी २ विषयमा सहमति जुटेपछि नेकपा स्थायी कमिटीको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । अपराह्न ४ बजे शुरू भएको बैठकमा अध्यक्ष ओली सहभागी छन् ।