
कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ ।
साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मंगोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै आउने गरेका छन् ।
चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौंदेखि निरन्तररूपमा चल्दै आएको छ । बसाइँ सारेर आउने चरामा अधिकांश जलपन्छी र शिकारी प्रजातिका रहने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका शिकारी ताल, बाबा ताल, सलगौडीताल, रानीताल लगायतमा बाह्य क्षेत्रबाट आएका पाहुना चराको संख्या बढ्न थालेको छ ।
निकुञ्ज बाहिरका कालीकिच, बन्दाताल, महाकाली, चौधर, स्याली, सनवोरा, दोदा नदी लगायतका क्षेत्रमा चरा आउने क्रम जारी रहेको छ । असोजको पहिलो हप्तादेखि बसाइँ सारेर आउने चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जारी रहने गर्दछ । गर्मी बढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फर्कने गरेका छन् ।
नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार प्रतिवर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् ।
कञ्चनपुर, कैलालीका तालतलैया, नदी र सिमसार क्षेत्रमा ३० भन्दा बढी प्रजातिका बसाइँ सारेर आउने चराको संख्या देखापर्ने गरेको छ । उनका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दूरे हाँस, कैले टाउके हाँस सहितका जीवल फिस्टो, डुवुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके लगायतका बसाइँ सारेर आउने चरा यहाँका देखिने गरेका छन् ।
पछिल्ला केही वर्षदेखि बसाइँ सारेर आउने चराको संख्यामा समेत कमी आउन थालेको उनको भनाइ छ ।
‘निञ्कुज क्षेत्रभित्रका तालतलैया क्षेत्र चराका लागि सुरक्षित भए पनि निकुञ्ज बाहिर रहेका तालतलैयालाई माछापालनका लागि ठेक्कामा दिने चलन बढ्दै गएकाले हिउँदे बसाइँ बस्नका लागि आउने चरालाई आहारको कमी हुन थालेको छ,’ उनले भने, ‘प्राकृतिक तालमा माछापालन गरिन थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादीको प्रयोग गरी र गुलेली हानेर मार्ने कार्य हुन थालेको छ । मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ ।’
जलवायु परिवर्तनका कारण प्रतिवर्ष तालको पानीको स्रोतमा समेत घटबढ हुने क्रमले समेत चरालाई आहाराको कमी हुन थालेको उनको बुझाइ रहेको छ । ‘बाह्य क्षेत्रबाट बसाइँ सारेर आउने चरा जोगाउनका लागि संरक्षण कार्यसँगै चेतनामूलक शिक्षा जलाधार क्षेत्र नजिकका बासिन्दालाई दिइन थालेपछि शिकार गर्ने कार्यमा भने कमी आएको छ,’ चराविज्ञ डगौराले भने, ‘चरा जोगाउनुपर्छ भन्ने भावना स्थानीय बासिन्दामा विस्तारै देखिन थालेको छ ।’ पहिलाको जस्तो चरा मार्ने कार्यमा निकै कमी आएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चरा अवलोकनकर्ताका लागि गतिलो गन्तव्यका रूपमा समेत रहेको छ । निकुञ्जमा ४५० प्रजातिका चरा पाइने गर्दछन् । निकुञ्जभित्र रहेका र बाह्य क्षेत्रबाट आउने चरा संरक्षणका लागि गरिएका प्रयासअनुरूप चराको तस्करी र शिकार गर्ने कार्य भने हुन पाएको छैन । विद्यालय र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा संरक्षण शिक्षा दिने कार्य समेत हुँदै आएको छ ।
निकुञ्ज कार्यालयले प्रतिवर्ष जलपन्छी र अन्य चराको अनुगमन र गणनाको कार्यसमेत गर्दै आएको छ । यसबाट चरा संरक्षणका लागि गरिने प्रयासमा सुधार ल्याउने गरिन्छ । जलचरको बासस्थानमा सुधार, सिमसारको संरक्षण तथा चराको चोरी शिकारीलाई न्यूनीकरण गर्नुपर्ने चरा विज्ञको भनाइ छ । – राजेन्द्र पनेरु/रासस