
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटी हत्या गरेपछि नेपालका सुरक्षा निकायहरू विप्लवका गतिविधि निस्तेज पार्नका लागि रणनीति बनाउनमा व्यस्त छन् ।
पछिल्लो समय विप्लवले हिंसात्मक गतिविधि बढाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र अनुसन्धान विभागले विप्लवका गतिविधि निस्तेज गर्नका लागि रणनीति बनाइरहेका हुन् ।
मोरङमा शिक्षकको हत्या गरेपछि ४ वटै सुरक्षा निकायले प्रतिबन्धित विप्लव समूह हिंसात्मक गतिविधिमा लागेको निष्कर्षसहितको ब्रिफिङ केही समयअगाडि सरकारलाई गरेका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो र नेपालका राजनीतिक दलहरूको आ–आफ्नै आन्तरिक किचालो चलिरहेको समयमा आफ्नो उपस्थिति देखाउनका लागि विप्लव समूह हिंसात्मक गतिविधिमा लागेको हुनसक्ने राष्ट्रिय अनुसन्धानका एक अधिकारी बताउँछन् ।
‘अहिले देशका दलहरू आन्तरिक किचलोमा छन्, त्यसैको फाइदा उठाएर विप्लवले यस्ता गतिविधि गरेको हो,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘उसले यसलाई आफ्नो उपस्थिति देखाउने अवसरका रूपमा लिएको हुनुपर्छ ।’
पछिल्ला गतिविधिपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले मंसिर २४ गते पूर्वी पृतना हेडक्वार्टर इटहरि मातहतका युनिटमा पुगेर शान्ति सुरक्षाको जानकारी लिएका थिए ।
त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए । त्यसपछि प्रधानसेनापति थापाले मातहतका युनिटहरूलाई विप्लवको गतिविधिमाथि सुक्ष्म निगरानी बढाउन निर्देशन दिएका थिए ।
देशको सुरक्षाको विषयमा चासो राख्नु र सूचना संकलन गरेर सरकारलाई सहयोग गर्नु नेपाली सेनाको दायित्व भएकाले नियमित भ्रमणमा प्रधानसेनापतिले सुक्ष्म निगरानी राख्न निर्देशन दिएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।
‘प्रधानसेनापतिज्यूको यो नियमित भ्रमण हो, जसमा विभिन्न विषयमा निर्देशन दिने क्रममा विप्लवको गतिविधिबारे निगरानी राख्न निर्देशन दिनुभएको हो,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘सेनाले देशको सुरक्षाको विषयमा चासो लिनु दायित्व पनि हो ।’
विप्लवको गतिविधि बढेको भन्दै नेपाल प्रहरीले आफ्ना मातहतका कर्मचारीले त्यस विषयमा रणनीति बनाउनु पर्ने कुरामाथि प्रहरी प्रधान कार्यलयमा चौमासिक प्रतिवेदन पेश गर्ने कार्यक्रममा छलफल भएको थियो ।
दुर्गम क्षेत्रमा विप्लवको गतिविधि बढेकाले त्यस क्षेत्रका चौकीहरूका लागि सुरक्षाको रणनीति बनाउनेबारे छलफल भएको समीक्षामा सहभागी एक प्रहरी अधिकृतले जनाकारी दिए ।
‘दुर्गमका प्रहरी चौकीहरूलाई विप्लवले निशाना बनाउन सक्ने भएकाले सुरक्षाका लागि रणनीति बनाउने छलफल भएको थियो,’ ती अधिकृतले लोकान्तरसँग भने ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले चौमासिक प्रतिवेदन समीक्षाको समयमा विप्लवको गतिविधिका विषयमा कुरा भएको बताए ।
‘नियमित प्रतिवेदन पेश गर्ने समयमा नै विप्लवको पछिल्लो हिंसात्मक गतिविधि भएकाले त्यस विषयमा छलफल भएको हो,’ एसएसपी कुँवरले भने, ‘देशका सुरक्षाको विषयमा प्रहरीमा छलफल हुनैपर्यो नि !’
सरकारले प्रतिबन्ध लगाएको विप्लवको गतिविधिलाई नियन्त्रण गर्न र उसका नेता/कार्यकर्तालाई पक्राउ गर्नका लागि प्रहरीले अहिले विषेश सर्च अभियान नै चलाएको प्रहरी स्रोत बताउँछन् ।
त्यसो त मोरङमा शिक्षकको हत्यापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले मिक्लाजुङमा अस्थायी चौकी समेत स्थापना गरेका छन् ।
विप्लव समूहले पछिल्लो समयमा आफ्नो गतिविधिलाई हिंसात्मक बनाएको छ । मिक्लाजुङको घटनाभन्दा अगाडि मंसिर महिनाको शुरूआतमा संखुवासभाको चैनपुरमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो ।
गस्तीमा गएको प्रहरी टोली चढेको गाडीलाई लक्षित गरेर थपेको विद्युतीय धराप ‘एम्बुस’ असफल भएपछि गोली हानाहान भएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।
अघिल्लो वर्ष प्रहरीले गरेको इन्काउन्टरमा विप्लवका जिल्ला नेता कुमार पौडेलको मृत्यु भएको थियो ।
सुरक्षा एजेन्सीको कुरा सरकारले सुन्नुपर्छः पूर्व डीआईजी मल्ल
नेपालमा रहेका सुरक्षा निकायहरूको विश्लेषण सरकारले राम्रोसँग सुन्नु र मनन गर्नुपर्ने बताउँछन्, पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी ।
मिक्लाजुङ घटना जघन्य अपराध भएकाले घटनाका पीडितले न्याय पाउनुपर्ने र सरकार तथा विद्रोहीको बीचमा जनतालाई च्याप्न नुहने मल्लको भनाइ छ ।
सरकारले राजनीतिक तबरबाट विद्रोहीका रूपमा देखिएको विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउनुपर्ने र निर्दोष जनतालाई दुवै पक्षको बीचमा घचेट्न नहुने पूर्व डीआईजी मल्ल ठकुरीले बताए ।