भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा विवाह समारोहभन्दा ठीक अघि दुर्घटनामा परेर दुलहीको मेरुदण्ड भाँचिएको छ ।
यस्तो अवस्थामा दुलहाले उनीसँग विवाह सम्पन्न गरे अनि अहिले २४सै घन्टा अस्पतालमा बसेर उनको सेवा गरिरहेका छन् ।
आरती मौर्यको विवाह अर्को गाउँमा बस्ने अवधेशसँग हुन लागेको थियो । दुवैको घरमा खुशियाली थियो । बिहे राति हुन लागेको थियो ।
तर अपराह्नमा छतमा पुगेकी आरतीको अचानक गोडा चिप्लियो र उनी सीधै तल पुगिन् । उनको मेरुदण्डको हाड फुटेको थियो । शरीरमा अनेकौं चोट लागेको थियो ।
यसको खबर अवधेशको घरमा पुग्दा सबैजना आत्तिए ।
चिकित्सकहरूले आरती तत्काल हिँडडुल गर्न नसक्ने बताएपछि आरतीको परिवार स्तब्ध भयो । त्यसपछि आरतीको परिवारले अवधेशलाई आरतीकी बहिनी बिहे गर्न भन्यो ।
तर अवधेशले आरतीसँग नै बिहे गर्ने अड्डी कसे । आफूले आरतीलाई जस्तो हालतमा भए पनि अपनाउने उनले बताए ।
चिकित्सकहरूसँग अनुमति लिएर अवधेशले आरतीलाई एम्बुलेन्समा घर ल्याए र विवाह समारोह पूरा गरे । त्यसपछि उनले आरतीलाई अस्पताल फर्काए ।
अस्पतालमा अवधेशले सबै दस्तावेज तयार पारे । फारम तथा अन्य कागजातमा उनले आफूलाई आरतीको पति लेखे ।
अहिले अवधेश आरतीलाई २४सै घन्टा सँगै बसेर सेवा गरिरहेका छन् । आरतीको शल्यक्रिया सम्पन्न भइसकेको छ । उनी छिटो निको होऊन् भनी अवधेशले दिनरात प्रार्थना गर्ने गरेका छन् ।