
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझका लागि बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि बैठक स्थगित हुने भएको हो ।
बिहीवारका लागि बोलाइएको परिषद् बैठक स्थगित हुने जानकारी प्रचण्डले नेकपाका अन्य नेतालाई गराएका छन् । प्रचण्डले ओलीसँग बिहीवार अपराह्न बालुवाटारमा भेटवार्ता गरेका थिए ।
प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि बैठक स्थगित हुने भएको बालुवाटार स्रोतले जानकारी दियो । देउवाले अध्यादेश फिर्ता नगरी बैठकमा सहभागी नहुने बताएका थिए ।
पार्टीभित्र तथा बाहिरको चर्को विरोधपछि प्रधानमन्त्री ओलीले बुधवार बसेको नेपका स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने बताएका थिए । तर बिहीवार अपराह्नसम्म अध्यादेश फिर्ता भएको छैन ।