
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक देव गुरुङले पार्टीको विवाद अन्त्य नभएको बताएका छन् ।
नेकपाका २ अध्यक्षबीच बुधवार सहमति भएर अध्यादेश फिर्ता र हस्ताक्षर संकलन कार्य फिर्ता भए पनि पुरानो अवस्थामा रहेको पार्टीको विवाद जहाँको त्यहीँ रहेको दाबी उनले गरे ।
बिहीवार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता गुरूङले भने, ‘होइन हिजोको प्रसंग र पार्टीको विवाद फरक कुरा हो । एउटा कुरा टुंगिँदैमा सबै विवाद सकिएको मानिँदैन, पार्टीभित्र वा बाहिर विधि र विधान मिच्ने अधिकार कसैलाई हुँदैन ।’
नेता गुरूङले प्रधानमन्त्रीले आफ्नो राजीनामा मागेको भन्दै ठाडो आदेशका भरमा कसैले राजीनामा नदिने बताए । नेकपा स्थायी समिति सदस्य समेत रहेका गुरुङले कसैले पनि निषेधको राजनीति गर्न नहुने बताए ।
नेकपा भित्रका विवादहरू पार्टीभित्रैको विधि विधानबाट अन्त्य गरेर पार्टीलाई नयाँ गति दिनुपर्ने गुरुङले बताए । उनले अहिलेका राजनीतिक र वैचारिक समस्याहरू समाधान गर्न नै छलफल, बहस र अन्तर्क्रिया चल्नु स्वाभाविक रहेको बताए ।