
उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीलाई यसअघि जिल्ला अदालत कैलालीले जन्मकैद हुनेगरी सुनाएको फैसलालाई सदर गरेको छ ।
न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलास (इजलास नम्बर २ ) ले बिहीबार चौधरीलाई जन्मकैदका साथै ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सुनाइएको हो ।
जन्म कैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् । ०७५ फागुन २२ गते जिल्ला अदालतले उनीहरुमाथि सो सजाय हुने फैसला सुनाएको थियो ।
यसैगरी अर्का प्रतिवादी लक्ष्मण थारुलाई समेत जन्मकैदको फैसलाका साथै ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाइएको छ । यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ कैद भुक्तानी गरिसकेका उनलाई अहिले उच्च अदालतले फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको हो ।
टीकापुर घटना घटाउन उनले समेत योजना र नेतृत्व लिएको ठहर गरिँदै यसअघिको फैसला केही उल्टिएको उल्लेख गरिएको छ ।
यसैगरी अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दिल बहादुर चौधरीविरुद्धको मुद्धामा यसअघिको फैसला नमिलेको भन्दै केही उल्टिएको छ । उनीहरुलाई जनही १० वर्ष कैद सजाय हुने ठहर गरिएको छ ।
यसैगरी सुन्दरलाल कठरिया, बृज मोहन चौधरी र राजकुमार कठरियाको मुद्दा पनि केही उल्ट्याएर जनकी ५ वर्ष कैद ठहर गरिएको छ भने रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीलाई पनि जनही ५ वर्ष कैद ठहर गरिएको छ ।
सुन्नीराम चौधरी, लाहुराम चौधरी र राम कुमार कठरियालाई ३ वर्ष कैद गर्ने फैसला सदर हुँदा विश्राम चौधरीले भने सफाइ पाएका छन् ।
यसैगरी राम नरेश चौधरी तहाँवर अली र अर्का विश्राम चौधरीले यसअघि नै पाएको सफाइ सदर हुँदा १४ वर्षमुनीका नाबालक भएकाले करण चौधरीको हकमा ज्यानसम्बन्धी महलको कसुरमा ६ महिना कैद सजाय ठहर भएकोमा त्यसलाई अहिले पनि सदर गरिएको छ ।
यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो ।
८ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोग रेशम चौधरीलाई लगाइँदै आएको छ । तर जसपालगायतका केही दलले सो घटनालाई राजनीतिक दावी गर्दै चौधरीलगायतको रिहाइको माग गर्दै आएको छ ।
फरार अवस्थामै रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजय हासिल गरेका थिए । उनलाई सांसदको शपथ समेत गराइएपनि हाल जेलमै रहेका छन् ।